

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार प्रेमबहादुर आलेले आफूले चुनावका क्रममा कसैलाई पैसा नबाँडेको स्पष्ट पारेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाह मनुले लगाएको आरोपलाई निराधार भन्दै खारेज गरेका हुन् ।
कांग्रेसका प्रदेश महामन्त्रीसमेत रहेका शाहले भने आलेले कांग्रेसका ५७ जनाले नेता कार्यकर्तालाई पैसा दिएको सुची आफुले पाएको दावी गरेका थिए । उनले एक अन्र्तवार्तामा “ तेस्रो स्थानमा आएका उम्मेदवारले नै सुची दिएर तपाईका मान्छेले आर्थिक सहयोग लिएका छन् भने” भनेर आफ्लाई जानकारी गराएको बताएका छन् तर उनले ती ५७ जनाको नाम भने सार्वजनिक गरेका छैनन् ।

आलेले भने यस्तो कुनै सुची नबुझाएको दावी गर्दै आरोप प्रमाणित गर्न चूनौती दिएका छन् । “म डोटीबाट आएर व्यक्ति पहिलोपटक कैलालीमा चुनाव लडेको हुँ, यहाँका ५७ जनालाई चिनेको पनि छैन ।उनले भने “यदी मैले सूची दिएको प्रमाण छ भने सार्वजनिक गरियोस् ।
आलेनिकट स्रोतका अनुसार निर्वाचनपछि आले र शाहबीच भेटघाट भएको थियो । उक्त भेटमा काङ्ग्रेसभित्रको आन्तरिक विवादका कारण आफुले अपेक्षित सहयोग नपाएको आलेको भनाई रहेको बताएको छ ।
गत २१ फागुनमा सम्पन्न निर्वाचनमा यस क्षेत्रबाट रास्वपा उम्मेदवार आनन्दबहादुर चन्द विजयी भएका थिए । उनले ३१ हजार ९५३ मत प्राप्त गर्दा शाहले ११ हजार ९५८ र आलेले सात हजार ८७६ मत पाएका थिए ।

