




धनगढी । धनगढीमा चुरे संरक्षणबारे सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) ले आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा वनकर्मी र संरक्षणकर्मीले चुरेको अवस्था दिनहुँ कमजोर हुँदै गएको बताएका हुन्।
कार्यक्रममा सुदूरपश्चिमका विभिन्न जिल्ला र कर्णाली प्रदेशबाट आएका प्रतिनिधिहरूको सहभागिता थियो।
सहभागीहरूले चुरे संरक्षण मानवविहीन होइन, मानवसहित हुनुपर्नेमा जोड दिए। उनीहरूले वन्यजन्तुको मात्रै होइन, स्थानीय बासिन्दाको सुरक्षालाई पनि बराबरी प्राथमिकता दिनुपर्ने बताए।
कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष ठाकुरप्रसाद भण्डारीले चुरे र वन संरक्षणसम्बन्धी कानुनी व्यवस्था बारे जानकारी दिएका थिए।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले सामुदायिक वनले संरक्षणमा पुर्याएको योगदानको प्रशंसा गर्दै आवश्यक सहयोग गर्न तयार रहेको बताए।
कार्यक्रमकी अध्यक्ष झुमाकुमारी चौधरीले वन कार्यालयसँग सहकार्य गरेर संरक्षणका कार्यक्रम अघि बढाइने बताइन् र सहयोग गर्ने सबैलाई धन्यवाद दिइन्।
