

डोटी । बैंकिङ कसुर मुद्दामा अदालतबाट कैद सजाय र जरिवाना तोकिएकी एक महिलालाई डोटी प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत डोटीको २०८२ साल वैशाख २६ गतेको फैसला अनुसार १० दिन कैद सजाय र ४० लाख रुपैयाँ जरिवाना तोकिएकी डोटीको आदर्श गाउँपालिका–३ बस्ने ४० वर्षीया सन्जा कुमारी कठायत रोकायालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले उनलाई दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारबाट पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार फैसला कार्यान्वयनको सिलसिलामा फरार रहेकी रोकायालाई खोजतलासका क्रममा नियन्त्रणमा लिइएको हो। उनलाई आवश्यक प्रक्रिया पूरा गरी अदालतमा पेश गरिने प्रहरीले जनाएको छ।

