बाजुरा–हुम्ला सीमा विवाद :  फेरि बन्द भयो कर्णाली कोरिडोर

cp new add
Nisharg hospital
suchana

धनगढी । बाजुराको हिमाली गाउँपालिकामा भएको लुटपाट र कुटपिटका घटनामा प्रशासनले चासो नदेखाएको भन्दै हिमाली युवा क्लबले कर्णाली कोरिडोर अनिश्चितकालका लागि बन्द गरेको छ। क्लबले आइतबारदेखि अनिश्चितकालका लागि कर्णाली कोरिडोर बन्द गरेको हो।

यसअघि जेठ ८ गते जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र राजनीतिक दलहरूबिच भएको २४ घण्टे सम्झौता कार्यान्वयन नभएको र उल्टै स्थानीयका घरहरूमा लुटपाट र तोडफोडका घटना थपिएकाले बाध्य भएर बन्दको आह्वान गरिएको क्लबले जनाएको छ।

हिमाली गाउँपालिका वडा नं ३ को लाम्पाटामा स्थानीयका घरहरूमा लुटपाट र तोडफोड हुनुका साथै स्थानीय बासिन्दामाथि निर्मम कुटपिट भएको थियो। क्लबका अनुसार हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकाका केही व्यक्तिहरू यस घटनामा संलग्न रहेका छन्। उनीहरूले स्थानीय बासिन्दाका साथै भ्रमणमा आएका पर्यटकहरूको समेत व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति लुटेको आरोप लगाइएको छ।

लाम्पाटामा भएको घटनाको स्थलगत अनुगमन गरी तत्काल सर्जमिन मुचुल्का तयार गर्नुपर्ने, हुम्ला जिल्लाका संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याई लुटिएको धनमालको क्षतिपूर्ति पीडितलाई उपलब्ध गराउनुपर्ने, कुटपिटबाट घाइते भएका स्थानीयहरूको उपचारको जिम्मा पीडक पक्षले लिनुपर्ने, लाम्पाटा च्याचौरका विस्थापित परिवारलाई पुनर्स्थापित गरी सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने र निर्माणाधीन प्रहरी चौकी भवनमा पुर्‍याइएको क्षतिको क्षतिपूर्ति भराई भवन निर्माण कार्य तुरुन्त अगाडि बढाउनुपर्ने क्लबको माग छ ।

हिमाली युवा क्लबले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...