


धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सांसद डम्मरी(रक्षा) महरालाई मन्त्री बनाउछन् भन्ने धेरैको अपेक्षा थियो । तर, मुख्यमन्त्रीको निर्णय अपेक्षाको ठीक विपरीत आयो ।
शाहले सोमबार कांग्रेसका तीन मन्त्री र दुुई राज्यमन्त्री नियुुक्त गरे । शाहले आर्थिक मामिला मन्त्रालयमा बिक्रमसिंह धामी, सामाजिक विकास मन्त्रीमा बेलबहादुर राना, मानबहादुर रावललाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनाउँदा मधुु भारतीलाई सामाजिक विकास राज्यमन्त्री र जुुना दानीलाई अर्थराज्यमन्त्री बनाए ।
धामी र भारती शाह पक्ष र अन्य तीन जना कांग्रेस संस्थापन पक्षबाट मन्त्री बनेका हुन् । कांग्रेसको असन्तुुष्ट पक्षले मुख्यमन्त्री शाहलाई दलको नेताबाट हटाउन संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेको पृष्ठभूमीमा आफ्नो पद जोगाउन सरकार पुर्नगठनको अवस्था बनेको थियो ।
उनलाई दलको नेताबाट हटाउने निर्णयमा हस्ताक्षर गर्ने ९ मध्ये सांसद महरा पनि थिइन् । पार्टीको एकताका लागि भन्दै महराले हस्ताक्षर फिर्ता लिएपछि शाहको पद जोगिएको थियो । तर, सरकार पुर्नगठनमा आफ्नो पद जोगाएकी महरालाई भन्दा शाहले अरुलाई प्राथमिकता दिदा उनी छुुटेकी छन् ।
महराको चाहाना मन्त्री बन्ने थियो तर मुख्यमन्त्री शाहले राज्यमन्त्रीमा प्रस्ताव गरेपछि अस्वीकार गरेकी थिइन् । कांग्रेसको असन्तुष्ट पक्षसँग भागबण्डा गरेर पाएको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी आफूलाई दिनुुपर्ने अडान महराको थियो तर शाहले सामाजिक विकास मन्त्री बन्न प्रस्ताव गरेको स्रोत बताउँछ ।
तर, आफू राज्यमन्त्री नबन्ने अडान लिइन् । त्यसपछि मुख्यमन्त्रीले प्रमुख सचेतक बन्न गरेको प्रस्ताव पनि अस्वीकार गरेकी थिइन् । महराले अस्वीकार गरेपछि शाहले निवर्तमान सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्कालाई प्रमुख सचेतक बनाएको स्रोतको भनाई छ ।
महरा स्वयंमले पनि यो कुरा स्वीकार गरेकी छन् । उनले सरकारको कार्यशैलीमाथि विगतदेखि प्रश्न उठाउदै आएको र सोही कारण शाहविरुद्धको प्रस्तावमा हस्ताक्षर गरेको बताइन् । पार्टीको आन्तरिक एकतामा असर पर्ने देखेर फिर्ता लिएको बताउने उनी मन्त्रीमा आफ्नो दाबी स्वभाविक भएको बताउँछिन् । तर, आफूूभन्दा अग्रज नेता बिक्रम सिंह धामीलाई बनाउने कुरा आएपछि सहजै पछि हटेको उनको भनाइ छ ।
मन्त्री नबनेपनि सांसदका रुपमा जनताको सेवामा विगतजस्तै खटिने प्रतिबद्धता महराले गरेकी छन् ।

