
काठमाडौं । भारतमा प्रसिद्ध राजनीतिक विश्लेषकको छबी बनाएर बिहारमा शासन गर्न राजनीतिमा उत्रिएका प्रशान्त किशोर दोस्रो प्रयासमा विधान सभा सदस्य जितको नजिक पुगेका छन् ।

बिहारको बाँकीपुर विधान सभा क्षेत्रमा उपचुनावको मतगणना चलिरहँदा जन स्वराज पार्टीका मुखिया प्रशान्त किशोर भाजपालाई उछिनेर अघि बढेका छन् । ३१ राउण्डको गणनामध्ये १० राउण्ड सकिँदा प्रशान्त किशोर २० हजार मतका साथ अगाडि छन् । पटनाको शहरी इलाका मानिने बाँकीपुर सीट सत्तारुढ भारतीय जनता पार्टीको मजबुत गढका रुपमा मानिने गरेको छ ।
यहाँबाट यसअघि भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नबिन बिधायक निर्वाचित भएका थिए । नितिन नविन नेपालको राष्ट्रिय सभा जस्तै मानिने माथिल्लो सदन राज्य सभा सदस्य निर्वाचित भएपछि यो क्षेत्रमा भएको उपचुनावमा बिजेपीका निरज कुमार उम्मेदवार छन् ।
उनी प्रशान्त किशोरभन्दा ६ हजार मतले पछि रहेको बीबीसीले जनाएको छ । एक वर्षअघि भएको निर्वाचनमा प्रशान्त किशोरको पार्टीले विहारमा एक सीट पनि जित्न सकेको थिएन । उता मध्यप्रदेशको दतिया सीटमा भएको उपचुनावमा पनि भाजपाले आफ्नो गढ गुमाउने देखिएको छ । भाजपाका आशुतोष तिवारी मत गणनामा पछि परेको भारतीय सन्चारमाध्यमले जनाएका छन् । त्यहाँ कांग्रेसका घनश्याम सिंहले अग्रता लिएका छन् ।
उता गुजरातको मान्जलपुर विधान सभा उपचुनावमा भने बीजेपीका सतेन्द्रभाइ पटेलले अग्रता लिएका छन् । यी तीनवटै सीटमा यसअघि भाजपाले जितेको थियो । भारतमा हालै भएका जेनजी र कक्रोच आन्दोलनलगत्तै भएको उपनिर्वाचनमा भाजपाविरोधी जनमतको असर देखिएको बीबीसीको विश्लेषणमा छ ।

