
काठमाण्डौ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चलिरहेको उद्योग बन्द हुने अवस्थामा पुगेको कारण खोज्न सरकारलाई आग्रह गरेका छन्।

फेसबुकमा स्ट्याटस लेखेर पूर्वमन्त्रीसमेत रहेका घिसिङले सरकारले बन्द उद्योग खोल्दै गर्दा चलिरहेका हेटौंडा र उदयपुर सिमेन्ट बन्द हुने अवस्थामा पुगेको कारण पत्ता लगाउनुपर्ने बताएका हुन्।
‘निजी लगानीकर्ताले खानी किनेर अर्बौं लगानी गरेर स्थापना गरेको सिमेन्ट उद्योग नाफामा चल्छ तर सबैभन्दा राम्रो चुन ढुंगा खानी भएको र विदेशीले लगानी गरेर ठूलो संऱचना बनाई दिएको उद्योग घाटामा गएर किन बन्द हुने अवस्थामा पुग्छ ?’ उनले प्रश्न गरेका छन्। ५ वर्ष अगाडि ह्वाङ्सी सिमेन्टले प्रसारण लाइन नभएको बेलामा डिजल जेनेरेटर चलाएर उद्योग चलाउँदा पनि नेपालीलाई सबैभन्दा सस्तोमा सिमेन्ट दिएको उनले बताए।
घिसिङले सरकारी संस्था सँधै घाटामा चल्छ भन्ने कुरा नेपाल विद्युत प्राधिकरणले गलत सावित गरिसकेको बताए। ‘स्थापनादेखि अधिकांस समय घाटामा रहेको प्राधिकरण विगत १० वर्षदेखि लगातार अर्बौंको नाफामा छ। यस अवधिमा विद्युत महशुल करिब २५ प्रतिशतले घटाएर पनि नाफा कमाउन सक्दो रहेछ। नेतृत्व र व्यवस्थापन अत्यन्त महत्वपूर्ण छ,’ उनले भनेका छन्।
तसर्थ सरकारले बन्द उद्योगलाई खोल्ने मात्र होइन यसलाई दीर्घकालिन रूपले संचालनमा ल्याउने र चलेका उद्योगलाई बन्द हुनबाट रोक्दै नाफामा लैजानेतर्फ सोच्न जरूरी रहेको उनले बताए।

