

२७ कात्तिक, धनगढी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा अनियमितता सम्बन्धिका उजुरीको संख्या बढेको छ । कार्यालयमा स्रोतअनुसारका उजुरीको संख्या चालु आर्थिक वर्ष सुरु भएसँगै बढेको हो ।
अख्तियारको कार्यालय कञ्चनपुरमा तीन सय ५ वटा अनियमितता विरुद्धको उजुरी दर्ता भएको कार्यालयले जनाएको छ । सबैभन्दा बढी साउनमा एक सय ४२ वटा उजुरी दर्ता भएका छन । भदौमा ८५, असोजमा ५१ र कात्तिक २६ गतेसम्म २८ उजुरी दर्ता भएको कार्यालयले जनाएको छ ।
लिखित, टेलिफोन, भाइवर, इमेललगायतको माध्यमबाट उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका सूचना अधिकारी नारायणप्रसाद ढकालले बताए । अख्तियारको कार्यालयमा कुल दर्ता उजुरीमध्ये ३५ प्रतिशत बढी उजुरी स्थानीय तहसँग सम्वन्धित छन ।
आयोगको कार्यालयमा परेका उजुरीमाथि अनुसन्धानको काम पनि सँगसँगै भइरहेको छ । कार्यालयमा संघ र प्रदेश सरकारले गर्दै आएका पूर्वाधार निर्माणमा भइरहेका अनियमित लगायतको विषयमा पनि उजुरी परेको कार्यालयले जनाएको छ ।

