



कञ्चनपुर । कञ्चनपुरमा अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित ४ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट १२ ग्राम ५६० मिलिग्राम लागूऔषध बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार दिउँसो भीमदत्त नगरपालिका–५ बनखेतमा लागूऔषधको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा ११ ग्राम ४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित भीमदत्त नगरपालिका–६ का ३० वर्षीय हरिशप्रसाद जोशी पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यसैगरी, भीमदत्त नगरपालिका–३ राजीपुरबाट १ ग्राम ३७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित कैलालीको जोशीपुर गाउँपालिका–१ घर भई हाल भीमदत्त नगरपालिका–३ राजीपुरमा डेरा गरी बस्ने २२ वर्षीय सुदीप चौधरी पक्राउ परेका छन् । उनलाई अस्थायी प्रहरी पोस्ट गैलनदीबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो चेकजाँचका क्रममा पक्राउ गरेको हो ।
त्यस्तै, बेदकोट नगरपालिका–६ सिसैयाबाट १५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित बेदकोट नगरपालिका–१० हरपालका २३ वर्षीय मीनबहादुर ठगुन्नासहित दुई जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरी चौकी सुडाबाट खटिएको टोलीले बुधबार साँझ शंका लागेर चेकजाँच गर्दा लागूऔषध फेला पारेपछि पक्राउ गरेको हो ।
प्रहरीका अनुसार तीनवटै घटनामा गरी १२ ग्राम ५६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको छ । पक्राउ परेका चारै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






