


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा शनिबार दुईवटा खेल हुने कार्यक्रम थियो । तर, निरन्तरको वर्षाका कारण दुवै खेल हुने सम्भावना छैन । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा वर्षाको पानी जमेको हो ।


नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन सिंहले पनि कीर्तिपुर मैदानमा पूरै वर्षाको पानी जमेको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । जारी सिजनको एनपीएलमा हालसम्म ६ खेल सकिएका छन् । शुक्रबार भने कुनै पनि खेल राखिएको थिएन ।






शनिबारको पहिलो खेल लुम्बिनी लायन्स र चितवन राइनोजबीच हुने तय भएको थियो । उक्त खेल १२:३० बजेका लागि राखिएको थियो । यसैगरी, शनिबारको दोस्रो खेल साविक उप-विजेता सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच परेको छ । उक्त खेल दिवा–रात्रिरूपमा १७:०० बजे शुरू हुने तालिका थियो ।

तर, वर्षाका कारण शनिबारको दुबै खेल शुरू नै हुने सम्भावना छैन । अहिले पनि काठमाडौंमा निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण खेल सम्भव नभएमा दुवै टोलीले एक-एक अंक पाउनेछन् । हालसम्म केही टोलीले दुई र केही टोलीले एक खेल खेलेका छन् । दुई खेल सकेको कर्णाली याक्स चार अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । एक खेलबाट दुई अंक जोडेको लुम्बिनी लायन्स दोस्रो स्थानमा छ ।
यसैगरी, एक खेलबाट दुई अंक हात पारेको चितवन राइनोज तेस्रो, दुई खेलबाट दुई अंक बटुलेको जनकपुर बोल्ट्स चौथो र दुई खेलबाट दुई अंक हात पारेको सुदूरपश्चिम रोयल्स पाँचौँ स्थानमा छन् । यसैगरी, दुबै खेलमा पराजित भएको विराटनगर किङ्स छैटौँ, एक खेलमा पराजित भएको काठमान्डु गोर्खाज सातौँ र आफ्नो पहिलो खेलमै पराजित भएको पोखारा एभेन्जर्स आठौँ स्थानमा छन् ।
उपाध्यक्ष सिंहका अनुसार, वर्षाका कारण शनिबारको खेल हुने सम्भावना निकै कम छ । वर्षाका पानी बाहिरबाट ग्राउन्डमा पसेर बढी समस्या भएको उनले बताए । ‘वर्षा रोकिएमा आइतबारको खेल भने सम्भव हुनेछ । हामी यसका लागि तयार अवस्थामा छौँ,’ लोकान्तरसँगको कुराकानीमा उनले भने ।






