नयाँ सांसदहरुका लागि २० लाख खर्चेर सुदूरपश्चिम प्रदेशसभा चिटिक्क पारिदै
१७ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेश सभामा भवनमा अहिले धमाधम भित्री व्यवस्थापनको काम भइरहेको छ । अघिल्लो सांसदहरूले प्रयोग गरेका माइकहरू हटाएर नयाँ सांसदहरूलाई नयाँ माइक राखिएको छ ।
नयाँ सांसदहरूलाई नयाँ माइक मात्रै होइन उनीहरुको लागि नयाँ टेबल पनि राखिएको छ । पुराना टेबल अहिले थन्काइएको छ । प्रदेश सभा सदस्यको लागि मात्र होइन सभामुख र सचिव बस्ने स्थानलाई पनि चिटिक्क पारिँदै छ ।
प्रदेश सभा सचिवालयका कर्मचारीहरू यो काममा खटिएको भएपनि यसको खर्च भने प्रदेश सभा वा प्रदेश सरकारले गरिरहेको छैन । त्यसो भए कसले गरिरहेको त छ ? नीति निर्माण गर्ने स्थानको व्यवस्थापनमा अहिले दाता निकायले खर्च गरिरहेको छ । पुरानै भइरहेका उपकरण र फर्निचर हटाएर नयाँ राखिँदै छ ।
युएनडिपीको आर्थिक सहयोगमा सञ्चालित संसद् सहयोग परियोजना मार्फत सुदूरपश्चिम प्रदेश सभामा धमाधम व्यवस्थापनको कामहरू भइरहेका छन् । युएनडिपीले अघिल्लो पटक लगानी गरेर तयार गरेका उपकरणहरू हटाएर फेरि त्यहि उपकरणका लागि आर्थिक सहयोग गरेको छ ।
यसअघि प्रदेश सभा सुरु भए लगत्तै प्रदेश सभाकै लगानीमा जडान भएका माइकहरू हटाएर युएनडिपीले डिजिटल माइक जडान गरेको थियो । अहिले फेरि पुरानै शैलीको माइक जडान सुरु गरेको छ । आफ्नै पुरानो लगानीमा रहेका माइकहरू हटाएर ३२ वटा नयाँ माइकहरू राखिएका छन् । रोष्टममा २ वटा सभामुखको स्थानमा २ वटा र प्रदेश सभा सदस्यहरूको स्थानमा २८ वटा माइकल जडान भइसकेका छन् ।
त्यसबाहेक पुरानो टेबल हटाएर ५४ पिस नयाँ टेबल राखिएको छ । पुरानो भद्दा भएको र जोडिएको टेबल भएको भन्दै नयाँमा लगानी गरिएको हो । त्यति मात्रै होइन दाताकै सहयोगमा प्रदेश सभालाई चिटिक्क बनाउन रेलिङ बनाइँदै छ । दातकै सहयोगमा २ स्पिकर र एउटा मिक्चर पनि थप गरिएको छ ।
नयाँ प्रदेश सभा सदस्यहरूको लागि युएनडिपीले २० लाख भन्दा बढी रकम खर्च गरेको छ । यहाँ ५ लाख १४ हजारको फर्निचर र १५ लाख १७ हजारका उपकरण जडान भएका छन् । ‘प्रदेश सभा सदस्यहरुलाई सहज बनाउन माइक र टेबल थप गरिएको प्रदेश सभा सचिवालयका सचिव देव बहादुर बोगटीले बताए । पहिलेको माइकमा बोल्दा माननीय ज्यूहरू झुक्नु पर्ने वा माइक नै उठाउनु पर्ने भएपछि यो माइक जडान गरिएको हो’ उनले भने । – यो समाचार नेपाल प्रेसले लेखेको छ ।