२१ मंसिर, धनगढी । कञ्चनपुरको वेदकोट नगरपालिकामा पशुचौपाया खाडलमा गाडेको अवस्थामा भेटिएको विषयलाई लिएर स्थानीय थप आन्दोलित भएका छन् ।
व्यवस्थापनको माग गर्दै महिलाहरु आन्दोलित भएका बेला मंगलबार वेदकोट–३ को चोरपानीमा पशुचौपाया गाडिएको पाइएपछि बुधबार फेरी स्थानीयले नगरपालिका कार्यालय घेराउ गरेका छन् ।
मेयर भोजराज बोहरासहितका जनप्रतिनिधिविरुद्ध नाराबाजी गर्दै स्थानीयले नगरपालिका कार्यालय घेराउ गरेपछि अवस्था तनावग्रस्त बनेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले स्थानीय छाडा पशुचौपायासहित नगरपालिका कार्यालय घेराउ गरेको बताए । उनकाअनुसार जिल्ला प्रहरी कार्यालयबाट अवस्था नियन्त्रणका लागि टोली खटाइएको छ ।
बिहान तनाव सिर्जना भएपनि अहिले अवस्था शान्त रहेको प्रहरीले जनाएको छ । वेदकोटमा तीन दिनदेखि छाडा पशुचौपाया व्यवस्थापनको माग गर्दै स्थानीय महिलाहरुले नगरपालिकाविरुद्ध प्रर्दशन गरिरहेका छन् ।
उनीहरु पशुचौपायाले अन्नबाली खाएर हैरान बनाएको भन्दै उचित व्यवस्थापनको माग गरेका छन् । आन्दोलनपछि नगरपालिकाले सोमबार राति पशुचौपायालाई ट्रकमा हालेर वडा नम्बर ६ को मुसेपानीमा स्थापना गरेको गौशालामा लगेको थियो ।
तर मंगलबार भने ती पशुचौपाया गौशालाबाट अज्ञात समूहले निकालिदिएको नगरपालिकाको दाबी छ । मेयर बोहराले मृत भेटिएका चौपायाका विषयमा जानकार नभएको बताएपनि स्थानीयले भने नगरपालिकाले मारेर गाडेको आरोप लगाएका छन् ।