

पार्टी घोषणाभएको एक हप्ता नबित्दै नेकपा एकता राष्ट्रिय अभियानमा विवाद देखिएको छ ।
विवादकै कारण एक पक्षले संयोजक बामदेव गौतमलाई निष्कासित गरेको छ भने केन्द्रीय समितिसमेत भंग गरेको छ ।

शनिवार सतुंगलमा बसेको अभियानमा आबद्ध चार दलको बैठकले विभिन्न आरोप लगाउँदै संयोजक गौतमलाई निष्कासन गरेको हो ।
आम नेपाली पार्टी, नेकपा (राष्ट्रवादी), आधुनिक नेपाल समाजवादी पार्टी र समाजवादी केन्द्र नेपालका शीर्ष नेताहरूको संयुक्त बैठकले नयाँ केन्द्रीय समिति समेत चयन गरेको छ ।
जसको संयोजकमा युवराज सफल रहेका छन् भने सहसंयोजकमा कृष्णगोपाल बञ्झारा रहेका छन् । त्यस्तै मीननाथ देवकोटा सचिव र प्रवक्तामा नीलकण्ठ पौडेल छन् । सचिवालय सदस्यमा द्वारिका निरौला मानव, गुणबहादुर बञ्झारा, भरत कुमाल, भगवती ढकाल, सरस्वती न्यौपाने र तेजबहादुर कार्की रहेका छन् ।
केन्द्रीय समिति पछि थप विस्तार गरिने प्रवक्ता पौडेलले जानकारी दिए । उनका अनुसार संयोजक चयन भएका युवराज सफलको नेतृत्वमा विभिन्न कम्युनिष्ट, राष्ट्रवादी, प्रगतिशील पार्टी तथा समूहसँग वार्ता गर्न ५ सदस्यीय वार्ता तथा एकीकरण समितिसमेत बनाइएको छ ।