

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।
उनले सदस्यता शुल्कको महत्त्व स्पष्ट पार्दै निःशुल्क प्राप्त हुने वस्तुको मूल्य कम आँकिने धारणा व्यक्त गरे। “श्रम संस्कृतिको सदस्यता १०० रुपैयाँ तिरेर लिनुपर्छ । निःशुल्क आएको कुराको महत्त्व नहुने रहेछ,” उनले भने।

उनले जीवनमा ‘मूल्य’ र ‘महत्त्व’ बीचको फरक बुझ्नुपर्ने आवश्यकता औंल्याए। सास फेर्न पैसा तिर्नु नपर्ने भए पनि सास रोकिनासाथ केही मिनेटमै जीवन समाप्त हुने उदाहरण दिँदै उनले महत्त्व पैसाभन्दा माथि हुने बताए। त्यस्तै, शरीरका अंगहरूको आर्थिक मूल्य कम भए पनि जीवनमा त्यसको उपयोगिता अत्यन्त ठूलो हुने उनको भनाइ थियो।
अध्यक्ष साम्पाङले देश बनाउने अभियान आफ्नो एक्लो प्रयास नभएको पनि बताए। अभियानमा रचनात्मक र सकारात्मक रूपमा सबैको साथ सहयोग रहेको उल्लेख गर्दै उनले जेन–जी पुस्ताका युवाहरूलाई पनि सक्रिय रूपमा सहभागी हुन आह्वान गरे।

