

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले देशभरका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू हटाउने अभियान सुरू गरेका बेला सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालको घर पनि ऐलानी जग्गामा बनेको सार्वजनिक भएको छ।
तर उनले आफ्नो परिवार लामो समयदेखि कैलालीको लक्कीचुहास्थित ऐलानी जग्गामा बसोबास गर्दै आइरहेको प्रस्ट पारेका छन्।
सरकारले काठमाडौं उपत्यकाका नदी किनारामा बसोबास गर्ने सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको घरलाई डोजर लगाएर भत्काएपछि रास्वपा सांसद खनालको घरबारे पनि प्रश्न उठेको हो।
खनालले आफ्नो परिवार नदी किनाराको जग्गा मिचेर नबसेको बताए। तर लालपुर्जा नभएको र ऐलानी जग्गाका रूपमा उपयोग गर्दै आएको स्वीकार गरे।
‘लम्कीचुहा नगरपालिकामा मात्र १६ हजार ५ सय परिवार ऐलानी जग्गामा बस्छन्,’ खनालले भने, ‘हामीले खोला अतिक्रमण गरेका छैनौं। हाम्रोजस्तै ऐलानी जग्गामा तराईमा धेरै परिवार बस्छन्।’
उनले ऐलानी जग्गामा बस्नेहरूलाई विगतमा भूमि आयोगबाट पटक पटक लालपुर्जा वितरणको आश्वासन दिइएको भए पनि प्राप्त नभएको बताए।
‘अब नयाँ सरकारले भूमिसम्बन्धी समस्या समाधान गर्नुपर्छ,’ खनालले भने, ‘निकास दिनुपर्छ।’
उनले आफ्नो परिवारले सार्वजनिक जग्गा अतिक्रमण गरेको समाचार फैलाइएकोमा आपत्ति जनाउँदै भने, ‘म धेरै ऐलानी जग्गामा घर भएकाहरूको प्रतिनिधि हो। मिडियामा मलाई कसैको मान्छे भएको भन्ने तरिकाले प्रस्तुत गरिएको छ।’
उनले लम्कीबजार क्षेत्रमा ५० प्रतिशत मानिस ऐलानी जग्गामा बसोबास गर्ने गरेको बताए।
‘म सानो छँदा नै हामी त्यो ठाउँमा बस्न थालेका हौं। कर तिरेको जग्गा हो,’ खनालले भने, ‘त्यो ठाउँमा सबैको पक्की घर छ। २० फुटे बाटो छ।’
उनले ऐलानी जग्गामा बसोबास गर्नेहरूले नम्बरी जग्गा पाउनुपर्ने पनि बताए।
उनले भूमि समस्या समाधान आयोगले आफ्नो परिवारको विवरण विगतमा संकलन गरेको समेत उल्लेख गरे।
‘२०७६ सालमा बनेको भूमि समस्या समाधान आयोगले निवेदनहरू दर्ता गरेको थियो। निस्साहरू लगेको छ,’ खनालले भने, ‘कांग्रेस, एमाले र माओवादीले समस्या समाधान गरेनन्। अलपत्र पारे। अब यो सरकारले भूमिसम्बन्धी समस्या समाधान गर्नुपर्छ।’ यो समाचार सेतीपाटीले लेखेको छ ।

