

धनगढी । कञ्चनपुरमा सोमबार साँझ मृत अवस्थामा फेला परेका युवकको सुुसाइड नोट भेटिएको छ ।
दार्चुुलाको मार्मा गाउँपालिका–३ घर भएर महेन्द्रनगरमा अध्ययन गर्दै आएका आयुुश सिंह धामी मृत भेटिएको साथीको कोठामै सुसाइड नोट फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) हेमबहादुर शाहीले धामी भीमदत्त नगरपालिका–१८ भगतपुरस्थित दिलबहादुर बमको घर कोठामा मृत भेटिएको बताए ।
बमको घरमा धामीका साथी जनक राना डेरा गरेर बस्दै आएका थिए । उनी साथीकै डेरामा मृत भेटिएको डीएसपी शाहीले बताए । झुुन्डिएको अवस्थामा भेटिएका धामीले आत्माहत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।
कोठामा भेटिएको सुसाइड नोटमा भने धामीले आफू कुनै केटीको कारण नभएर शिक्षकको हेपाईले मर्ने निर्णय लिन बाध्य भएको उल्लेख गरेका छन् । उक्त सुसाइड नोटबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले आमाबुुवाको इच्छाअनुुसार अघि बढ्न नसकेकोमा क्षमा मागेका छन् भने साथीहरुको नाम उल्लेख गरेर सम्झना छ भनेका छन् ।
सोमबारको घटना भएपनि दार्चुलाबाट मृतकका आफन्त मंगलबार मात्र कञ्चनपुर पुगेका थिए । उनका काका पवनकुमार धामीले घटनाको अनुसन्धानका लागि ज्यान सम्बन्धी कसुरमा जाहेरी दिएका छन् ।
धामी महेन्द्रनगरको फारवेष्ट स्कुल अफ मेडिसिनमा अध्ययन गर्दै आएका थिए । परीक्षण धामीको परिवारले उनको शव बुझेको छ । घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

