

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाही र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहबीचको द्धन्द्ध सतहमा आएको छ । कुनै बेला दुई जनाको सम्बन्ध नङ र मासुको जस्तै थियो ।
तर, पछिल्लो समय भने उनीहरुको सम्बन्धमा दरार आएको छ । कतिसम्म भने अहिले दुुवै जनाबीच बोलचाल समेत बन्द छ । मुख्यमन्त्री शाहलाई अंकल भनेर सम्बोधन गर्ने सुशीला अहिले उनै अंकलकाविरुद्ध खरो भएर उत्रिएकी छन् ।
शाह पनि भतिजी मेयरको अवरोधमा सतिशाल झै उभिन थालेका छन् । लम्कीचुहा नगरपालिकाले सञ्चालन गर्दै आएको नगर अस्पताललाई प्रादेशिक बनाउने विषयमा समेत दुवै जनाको व्यक्तिगत इगोले विवादमा तानिएको छ ।
सम्बन्ध सुुमधुर भएका बेला १५ शैयाको लम्कीचुुहा नगर अस्पताललाई प्रादेशिक बनाउन स्वयंम मेयर शाहीले सहमती दिएकी थिइन् । शाहीको सहमतीका आधारमै प्रदेश सरकारले प्रादेशिक अस्पताल बनाउने प्रक्रिया अघि बढाएको थियो ।
तर, अहिले प्रदेशसँग जनशक्ति र स्रोत साधनको व्यवस्थापनका लागि शाहीले सम्झौता गर्न मानेकी छैनन् । नगरपालिकासँग सम्झौता गरेर मात्र प्रादेशिक अस्पताल सञ्चालन गर्नुपर्नेमा मुख्यमन्त्री शाहले पनि अड्डी कस्दै डाक्टर र कर्मचारी नै पठाएपछि विवाद थप चर्किएको छ ।
प्रदेश सरकारबाट खटिएर गएका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर कमलेश प्रसाद यादव, लेखा अधिकृत गणेश बिष्ट र नायब सुब्बा लक्ष्मी श्रेष्ठलाई शाहीले अस्पतालमा हाजिर समेत गर्न दिएकी छैनन् । एमओयु नगरेरै सरकारले जबरजस्ती अस्पताल लिन खोजेको भन्दै कुनै पनि हालतमा नदिने अडानमा सुशीला रहेकी छन् ।
कतिसम्म भने शाही अस्पतालकै कारण आफ्नो राजनीतिक करियर नै बरु सिध्याउन तयार हुने तर मुख्यमन्त्री शाहसँग खुुट्टा नकमाउने रणनीतिमा शाही पुगेको उनी निकट स्रोत बताउँछ । दुई जनाबीचको राजनीतिक बेमेलको प्रत्यक्ष असर भने अस्पतालमा देखिएपछि उनीहरु दुवैसँग नेपाली कांग्रेसकै एउटा जमात असन्तुष्ट देखिन्छ ।
अहिले धेरैले सोधिरेको प्रमुख प्रश्न, दुई जनाको सम्बन्धमा दरार आउनुुको कारण के हो ? यो कुरा थाहा पाउन तत्काल हेरेर पुग्दैन् । केही घटनाक्रम थाहा पाउनुुपर्छ । कमल शाह प्रदेश सांसद भएपछि पहिलोपटक २६ माघ २०७९ मा मुख्यमन्त्री बनेका थिए । त्यो अवधीमा शाह र मेयर शाहीबीचको सम्बन्ध ठीकठाक थियो ।
व्यक्तिगत र राजनीतिक रुपमा दुवै जना एकैठाउँमा उभिएका कारण दुवै जनाको घनिष्ठता प्रगाढ थियो । शाह २० साउन २०८१ मा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भए ।
त्यो बेलासम्म दुुई जनाको सम्बन्धमा फाटो आइसकेको थियो । दुई जनाबीचको सम्बन्धमा अविश्वास पैदा हुनुको प्रमुख कारण भने हाल अमेरिकामा रहेका शेरबहादुर देउवा र आरजुु राणाका प्रिय भतिजा प्रकाश भएको बताइन्छ ।
शाहलाई दोस्रोपटक मुुख्यमन्त्री हुनबाट रोक्न कांग्रेसका केही सांसद र नेताले प्रकाश देउवा कार्ड खेलेका थिए । उनीहरुले प्रकाशलाई अघि सारेका थिए । त्यो बेला शाहलाई रोकेर प्रकाश देउवालाई मुख्यमन्त्री बनाउन उनकै भतिजी विश्वास पात्र मेयर सुशीला शाहीले पनि भूमिका खेलेको हल्ला चलेको थियो ।
त्यसका बाबजुुत पनि शेरबहादुर र आरजुको आर्शिवादमा मुख्यमन्त्री बनेका शाह सुशीलासँग फायर भएका थिए । दुई जनाबीचको सम्बन्धमा फाटो आउनुुको मुख्य कारण यही भएको दाबी गरिन्छ ।
२८ माघ २०८१ मा तत्कालीन परराष्ट्र मन्त्री आरजुु राणा देउवाले लम्कीचुहा नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गरेकी थिइन् । कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाह पनि सहभागी थिए । आरजुुलाई दुुबोको मालाले अभिनन्दन गर्दा मुख्यमन्त्री शाहलाई भने माला सम्म लगाइएको थिएन । कतिसम्म भने शाहले सुरुमा मञ्चमा बस्न कुुर्सी समेत पाएका थिएनन् ।
सुशीला मेयर भएपनि मुख्यमन्त्री शाह पनि सोही नगरपालिकाका स्थानीय बासिन्दा हुन् । त्यो बेला आफ्नै नगरमा सुशीलाले सार्वजनिक रुपमा अपमान गरेको महसुस मुख्यमन्त्रीले गरेका थिए । त्यसपछि उनीहरुको सम्बन्ध थप बिग्रिएको थियो ।
अहिले दुवै जनाको बोलचाल नै बन्द छ । २१ फागुनको मध्यावधी चुुनावका बेला नेताहरुले उनीहरुलाई मिलाउने प्रयास गरेका थिए । दुवैले मिलेर जाने वाचा पनि नगरेका होइनन् तर स्थानीय नेताको उक्तिले काम नगरेपछि उनीहरुको सम्बन्ध सुधार नभएको बताइन्छ ।
बरु अहिले १५ शैयाको नगर अस्पताललाई लिएर दुुवै जना एकअर्काविरुद्ध लडिरहेका छन् । मुख्यमन्त्री शाहले प्रादेशिक अस्पतालका रुपमा सञ्चालन गर्न चाहेका छन् भने मेयर शाहीले कुनै पनि हालतमा प्रदेश सरकारलाई चलाउन नदिने अडान लिएकी छन् । यो विवादमा शाहले प्रदेशका कर्मचारीलाई प्रयोग गरिरहेका छन् भने मेयरले नगर प्रहरीको दुरुपयोग गरेकी छन् ।
दुुई जनाबीचको राजनीतिक र वैचारिक द्धन्ज्द्धको असर अस्पतालमा देखिएपछि सेवा प्रवाहमा असर पर्ने जोखिम बढाएको छ । चुरोको कुरोमा अड्किएको समस्या पत्ता लगाएर समाधान खोज्नुपर्नेमा प्रदेश सरकारका कर्मचारी पनि मुख्यमन्त्रीको उक्साहटमा उल्टै मेयर सुुशीला शाहीलाई जिस्काउने काम गरिरहेको आरोप लागेको छ ।

