

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलमा देखिएको आन्तरिक विवाद तत्कालका लागि साम्य भएको छ । संसदीय दलका नेता राजेन्द्र सिंह रावलले आत्माआलोचना गरेपछि दलभित्रको तनाव मत्थर बनेको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका सबै प्रदेशसभा सदस्यलाई गुण्डु बोलाएर विवादबारे छलफल गरेका थिए । २३ बैशाखमा पहिलो चरणमा प्रदेश सांसदहरूसँग र त्यसपछि उपमहासचिव लेखराज भट्ट, प्रदेश संयोजक गणेश ठगुुन्ना, अध्यक्ष कृष्णप्रसाद जैशी र दल नेता रावलसहितका नेताहरूसँग पनि छुट्टाछुट्टै संवाद गरेका थिए ।
छलफलका क्रममा रावलले आफ्नो कार्यशैली र व्यवहारबारे उठेका प्रश्नमा आत्माआलोचना गर्दै आगामी दिनमा सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । छलफलमा सहभागी एक नेताका अनुसार रावलले आफूबाट बोली वा व्यवहारका कारण असहज महसुस भएको भए क्षमा दिन आग्रह गरेका थिए । साथै, पार्टीलाई हानि पुग्ने कुनै काम आफूले नगरेको दाबी गरेका थिए ।
अध्यक्ष ओलीको उपस्थितिमा भएको छलफलमा रावलले कमजोरी सच्याउने प्रतिवद्धता जनाएपछि संसदीय दलको नेतृत्व परिवर्तनको विषयले धेरै स्थान पाएन । यद्यपि, यसअघि उनलाई हटाउन सक्रिय देखिएका अधिकांश सांसदहरूले सरकार पुनर्गठन गरेर आफूहरूलाई पनि मन्त्रीमा अवसर दिनुपर्ने धारणा राखेका थिए ।
रावललाई दलको नेताबाट हटाउनुपर्ने मागसहित उपनेता सन्तोष शर्मा थापा, प्रमुख सचेतक चक्र मल्ल र सांसद दमन भण्डारीले अध्यक्ष ओली तथा महासचिव शंकर पोखरेलसँग छुट्टाछुट्टै छलफल गरेका थिए । तर गुण्डुमा भएको बैठकमा भने उनीहरूले नेतृत्व परिवर्तनभन्दा सरकार पुनर्गठनमा बढी जोड दिएको बताइन्छ ।
छलफलमा सहभागी एक नेताका अनुसार, रावलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका नेताहरूले आगामी आर्थिक वर्षको बजेटअघि मन्त्रिपरिषद् पुनर्गठन गरेर आफूहरूलाई पनि सरकारमा सहभागी गराउन प्रस्ताव गरेका थिए ।
अध्यक्ष ओलीले रावललाई संसदीय दलभित्र सबै सांसदलाई एकताबद्ध बनाएर अघि बढ्न निर्देशन दिएका छन् । सरकार पुनर्गठनको विषयमा भने अन्य नेताहरूसँग परामर्श गरेर निर्णय लिने संकेत दिएको नेताहरूले बताएका छन् ।
स्रोतका अनुसार नेपाली कांग्रेससँगको सत्ता समीकरण कायम राख्ने वा नेकपाले अघि सारेको प्रस्तावअनुसार नयाँ राजनीतिक समीकरण बनाउने भन्ने विषयमा शीर्ष तहमा छलफल जारी छ ।
यता, संसदीय दलका नेता राजेन्द्रसिंह रावलले अध्यक्ष ओलीको उपस्थितिमा भएको छलफलबारे सार्वजनिक टिप्पणी गर्न अस्वीकार गरेका छन् । उनले त्यसबारे अध्यक्षसँगै बुझ्न आग्रह गरेका छन् ।
रावलमाथि बजेट विनियोजन, राजनीतिक नियुक्ति र सरकार सञ्चालनमा एकलौटी गरेको आरोप लगाउँदै केही प्रदेशसभा सदस्यहरू लामो समयदेखि असन्तुष्ट थिए । विवाद चर्किंदै गएपछि स्वास्थ्य समस्याका बीच पनि अध्यक्ष ओली आफैं सक्रिय भएर समाधान प्रक्रियामा जुटेका हुन् ।
रावल हटाउन दबाब दिँदै आएको समूहले भने अहिलेका लागि उनको कार्यशैली हेर्ने र सुधार नभए थप कदम चाल्ने संकेत गरेको छ ।
फेरि मुख्यमन्त्री बन्ने चर्चा
चर्को घेराबन्दी र आलोचनाबीच पनि गुण्डुको विश्वास जितेर संसदीय दलको नेता कायमै राख्न सफल भएका रावल फेरि मुख्यमन्त्री बन्ने चर्चा भएको छ । प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री बनेका रावलले फेरिदो राजनीतिक समीकरणका कारण महिना दिनमै पदमुक्त भएका थिए ।
अहिले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन छ । विशेष महाधिवेशनबाट सभापतिमा गगनकुमार थापा निर्वाचित भएर आएपछि फेरि राजनीतिक समीकरण र सत्ता फेरबदलको चर्चा हुन थालेको छ ।
थापाले धनगढी पुगेर अहिले एमालेसँगको सहकार्य अघि बढाउने कुरा स्पष्ट पारिसकेका छन् । सरकारका सम्बन्धमा थप निर्णय एमालेसँग कुराकानी गरेर लिने उनको भनाई थियो ।
धनगढी र कर्णालीको भेला सकेर काठमाडौँ फर्किएपछि उपसभापति विश्वप्रकाश शर्माले सरकार फेरबदलबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेका छन् । बाहिर कर्णाली प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा कुराकानी भएको बताइएको छ ।
तर, अन्य प्रदेको सत्ता फेर्ने कुरा पनि उनीहरुबीच भएको दाबी स्रोतको छ । छलफलका क्रममा तत्कालीन सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिम छाडेर ओलीलाई कांग्रेसले कोशी दिनुुपर्ने प्रस्ताव गरेको छ ।
यस्तो अवस्थामा सुदूरपश्चिम एमालेको भागमा पर्नेछ । र रावल फेरि मुख्यमन्त्री बन्नेछन् । तर, एमालेकै केही नेताहरु भने नेतृत्व नफेरेर मन्त्रीपरिषद् मात्रै हेरफेर गर्नुपर्ने अडानमा छन् ।
अर्कोतिर नेपाली कम्युनिष्ट पार्टीले पनि एमालेलाई सत्ता सहकार्य र एकताको प्रस्ताव गरिरहेको छ । तर यो बारेमा ओलीले निर्णय दिइसकेका छैनन्। एमाले, कांग्रेस र नेकपाको सत्ता समीकरण र राजनीतिले कस्तो मोड लिन्छ ? भन्ने कुरा केही दिनमै थाहा हुने नेताहरु बताउँछन् ।

