

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसको पार्टी सभापतिका रूपमा अहिले घर झगडाभन्दा बढी देशका मुद्दामा चिन्तन गर्ने बेला भएको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसको आन्तरिक समस्या भन्दा ठूला अहिले देशका समस्या रहेको बताएका हुन् ।
‘मैले आज बीपी कोइरालाले लगाउनुभएको जुत्तामा खुट्टा हालेको छु । यो जुत्ता सबैभन्दा महँगो, बलियो, भरपर्दो हो,’ सभापति थापाले भने, ‘यो जुत्तामा खुट्टा हालेको कांग्रेसको सभापतिले देशको समस्याको चिन्तन गर्ने कि घर झगडाको ? ’
कांग्रेसमा धेरै व्यक्ति लामो लडाइँ लडेर आएको बताउँदै उनले त्यो लडाइँ देश र लोकतन्त्रका लागि रहेको बताए । ‘यहाँ धेरै लडाइँ लडेर, यति धेरै मानिसको जीवन र जवानी गएको छ यसभित्र, हामीहरूको त केही पनि होइन, हामी एउटा कारण कि लोकतन्त्र, त्यहाँभित्र नागरिकको स्वतन्त्रता हुन्छ, नागरिकको आत्मसम्मान हुन्छ, नागरिकको सहभागिता हुन्छ र त्यसैबाट नागरिकको जीवनमा परिवर्तन आउँछ, परिवर्तनको त्यो बाटो सम्भव छ भनेर’, उनले भने ।
देशका मुल मुद्दामा पार्टीलाई ठीक ठाउँमा उभ्याउनका लागि कांग्रेसलाई तयार बनाउन पार्टीभित्र छलफल गर्ने र समर्थकलाई बताउनुपर्ने उनले बताए ।
‘मैले विशेष महाधिवेशन गर्नुपर्छ भन्दैगर्दा मेरो तर्क त्यही थियो, को हो नेपाली कांग्रेस ? कांग्रेस भनेर हामी संगठनको संरचनाभित्र बसेको मान्छे मात्रै हौं भन्न पाउँछौँ ? ,’ उनले प्रश्न गरे ।
यसपालि कांग्रेसले यस्तै १० लाख शुभेच्छुक र समर्थकको मत गुमाएको उनले बताए । उनले अगाडि भने, ‘त्यो १० लाख शुभेच्छुक र समर्थकको बीचमा म पुग्न चाहन्छु । म उनलाई भरोसा दिलाउन चाहन्छु पार्टी सभापतिका रूपमा । जे कारणले कांग्रेस हुनुभएको हो म त्यही फिर्ता गर्न चाहन्छु ।’

