बाजुरा-हुम्ला विवाद : धनगढीका मेयर नपुग्दै वडा सदस्यकाे परिवार कुटिएकाे थियो

cp new add
Nisharg hospital
suchana

धनगढी । बाजुरा–हुम्ला सीमा विवादका कारण साइपालको रानीसैन बेसक्याम्पतर्फ गएको धनगढी उपमहानगरपालिकाको टोली आक्रमणपछि फर्किएको छ ।

तर, मेयर गोपाल हमाल नेतृत्वको टोली घटनास्थल पुग्नुअघि नै हिमाली गाउँपालिका–३ का वडा सदस्यको परिवारमाथि मरणासन्न हुनेगरी कुटपिट भएको खुलेको छ ।

‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ अभियानअन्तर्गत धनगढीबाट गएको टोलीलाई हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका स्थानीयले लाम्पाटामा रोकेका थिए । ढुंगामुढा गर्दै आक्रमण भएपछि जनप्रतिनिधि, कर्मचारी र सहभागीहरू ज्यान जोगाएर फर्किन बाध्य भएका थिए ।

लाम्पाटा क्षेत्रलाई लिएर बाजुरा र हुम्लाका स्थानीयबीच लामो समयदेखि विवाद रहँदै आएको छ । अस्थायी प्रहरी चौकी निर्माणका लागि प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि विवाद थप चर्किएको बताइएको छ ।

हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमा गारा गुरुङले प्रहरी चौकी निर्माणका लागि जग्गा दान दिएपछि उनी स्थानीयको निशानामा परेका थिए ।

स्थानीयका अनुसार ३ जेठमा गुरुङ र उनकी श्रीमतीमाथि घरमै कुटपिट गरिएको थियो । घर कब्जा र लुटपाटसमेत भएको हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर मल्लले बताएका छन् ।

उनका अनुसार प्रहरी प्रशासनबाट अवस्था सामान्य रहेको जानकारी पाएपछि मात्रै धनगढीको टोली अघि बढेको थियो । तर, घटनास्थल पुग्दा अवस्था फरक देखिएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय बाजुराले ड्रोन उडाएर भिडियो खिच्ने क्रममा विवाद भएको जनाएको छ । तर, गाउँपालिका अध्यक्ष मल्ल र मेयर गोपाल हमालले भने घटना पुरानै सीमा विवादका कारण भएको बताएका छन् ।

मेयर हमालका अनुसार स्थानीयबीच तनाव रहेको जानकारी भए पनि हिंसात्मक अवस्था र कुटपिटबारे पूर्व जानकारी थिएन । ‘त्यहाँ यस्तो अवस्था छ भन्ने थाहा भएको भए हामी जाँदैनथ्यौँ,’ उनले भने ।

घटना थप उग्र हुन नदिन धनगढी र हिमाली गाउँपालिकाको टोली फर्किएको थियो । त्यसपछि कुटपिटमा गम्भीर घाइते भएका वडा सदस्यसहितलाई सरकारले हेलिकोप्टरमार्फत उद्धार गरेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...