

नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्। पार्टीभित्र आन्तरिक एकता कायम गर्न, १२औँ महाधिवेशनको मिति घोषणा गर्न तथा संगठनलाई सक्रिय र चलायमान बनाउन दबाबस्वरूप उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।
धर्नाका क्रममा कार्यकर्ताहरूले पार्टी कार्यालयका विभिन्न कक्षबाहिर ‘Party Unity First, Ego Later’, ‘१२औँ महाधिवेशन सुनिश्चित गर’ तथा ‘युवालाई space देऊ, पार्टीलाई pace देऊ’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै नेतृत्वको ध्यानाकर्षण गराएका थिए।
प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरूले नेपाली कांग्रेसभित्रको आन्तरिक एकता बलियो हुनुपर्ने र त्यसको सुरुआत विद्यार्थी संगठनबाटै हुनुपर्ने बताएका छन्। उनीहरूले गुट–उपगुटको राजनीति अन्त्य गर्दै संगठन र पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वले ठोस पहल गर्नुपर्ने धारणा राखेका छन्।
नेविसंघलाई लामो समयसम्म निष्क्रिय अवस्थामा राख्नु उचित नभएको उल्लेख गर्दै उनीहरूले समयमै महाधिवेशन सम्पन्न गरी युवालाई निर्णायक भूमिकामा अघि ल्याउनुपर्ने मागसमेत गरेका छन्।

