


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि भौतिक पूर्वाधार, पर्यटन, स्वास्थ्य, शिक्षा र रोजगारीलाई केन्द्रमा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
सोमबार प्रदेश सभामा प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा निर्माणाधीन गौरवका आयोजनालाई आगामी वर्षभित्रै सम्पन्न गर्ने प्रतिबद्धता जनाइएको छ। ती आयोजनाका लागि आवश्यकताअनुसार बजेट व्यवस्था गरिने उल्लेख गरिएको छ।
सडक पहुँचबाट अझै वञ्चित रहेका दार्चुलाका साइपाल र अपिहिमाल गाउँपालिका तथा बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकालाई सडक सञ्जालसँग जोड्ने लक्ष्य सरकारले अघि सारेको छ। साथै प्रदेश लोकमार्ग तथा सहायक सडकहरूको स्तरोन्नतिलाई पनि प्राथमिकतामा राखिएको छ।
गरिबी न्यूनीकरणलाई लक्षित गर्दै अछामको ढकारी गाउँपालिका र कमलबजार नगरपालिका, दार्चुलाको शिखर नगरपालिका, बाजुराको त्रिवेणी नगरपालिका तथा बैतडीका सिगास र शिवनाथ गाउँपालिकामा विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ। शिक्षा, स्वास्थ्य र पोषणसँग जोडेर ती क्षेत्रमा लक्षित कार्यक्रम लागू गरिने सरकारको योजना छ।
बढ्दो युवा पलायनलाई चुनौतीका रूपमा लिँदै सरकारले उत्पादन, उद्यमशीलता र सीप विकासमार्फत रोजगारी सिर्जना गर्ने नीति पनि अघि सारेको छ।
पर्यटन क्षेत्रलाई आर्थिक विकासको आधारका रूपमा विकास गर्ने लक्ष्यसहित अपी–सुर्मा–सैपाल–खप्तड–रानीसैन–बडिमालिका–रामारोशन क्षेत्रलाई उच्च पहाडी तथा हिमाली पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने घोषणा गरिएको छ। ती क्षेत्रमा पदमार्ग निर्माण र सुरक्षित पर्यटन पूर्वाधार विकास गरिने जनाइएको छ।
यसैगरी मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम, घोरीघोरा स्वास्थ्य उपचार कार्यक्रम, ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम, बादी उत्थान छात्रवृत्ति कार्यक्रम तथा मुख्यमन्त्री शैक्षिक प्रोत्साहन छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।

