प्रधानमन्त्रीले शेयर गरेपछि अपीमा क्रिकेट खेलेको भिडियो भाइरल बन्यो, भिडियो खिच्ने युवकलाई क्रेडिट किन दिइएन ?




धनगढी । प्रधानमन्त्री बालेन शाहले शनिबार आफ्नो आधिकारिक फेसबुक पेजमा ‘अपी हिमाल बेश क्याम्प,दार्चुला’ लेख्दै एउटा भिडियो शेयर गरे । हिमालय भट्टले खिचेको यो भिडियो प्रधानमन्त्रीको फेसबुकबाट शेयर भएपछि शनिबार दिनभर चर्चाको केन्द्रमा मात्र रहेन । भाइरल नै बन्यो ।
समाचार तयार पार्ने बेलासम्म बालेनले शेयर गरेको यो भिडियो ४९ लाख पटक हेरिएको छ । पाँच लाख ८७ हजार लाइक, ४६ हजार ९ सय कमेन्ट र १० हजार शेयर भएको छ । प्रधानमन्त्रीले शनिबार शेयर गरेको भिडियो १६ दिनअघि नै सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको भिडियो भएको पाइएको छ ।
फेरुवा नामको इन्स्टाग्राम एकाउन्टमा दुई हप्ता अघि यो भिडियो शेयर गर्दै मिति भने २६ मे २०२६ अथात् १४ जेठ भनिएको छ । सोही भिडियो हिमालय भट्टले २८ मे अथात् दुई दिनपछि आफ्नो फेसबुक वालमा शेयर गर्दै ‘सम्पूर्ण क्रिकेट प्रेमीहरुलाई यो भिडियो अपी बेस क्याम्पबाट’ लेखेका छन् ।
हिमालय भट्ट आफैले अपि बेस क्याम्प पुगेर खिचेको यो भिडियो पहिलोपटक इन्स्टाग्राम र फेसबुकमा शेयर गरेको तथ्य पनि पुुष्टि भएको छ । तर प्रधानमन्त्री बालेन शाहले भट्टलाई क्रेडिट समेत नदिएर शनिबार सोही भिडियो फेसबुकमा हाले । तर उनले म्युुजिक भने फेरेका छन् । यद्यपी भट्टले प्रधानमन्त्रीलाई भिडियो शेयर गरेकोमा धन्यवाद दिएका छन्
अहिले अपि बेश क्याम्पमा क्रिकेट खेलेको भिडियो भाइरल बनेपछि प्रधानमन्त्रीलाई धेरैले त्यहाँ क्रिकेट रंगशाला बनाउन सुझाव दिइरहेका छन् । भिडियो खिच्ने भट्ट भने दार्चुलाको महाकाली नगरपालिका–३ का बासिन्दा भएको खुलेको छ । आफूलाई फिरन्ते भन्न रुचाउने उनी विगत केही वर्षदेखि सुदूरपश्चिमका पर्यटकीय स्थलमा पुगेर कैद गरि प्रचार प्रसारको काम गर्दै आइरहेका छन् ।
