
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब दुई लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ । मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको हो ।

मन्त्रालयका अनुसार सरकार–सरकार (जीटूजी) सम्झौताअन्तर्गत भारतबाट ३० हजार मेट्रिक टन युरिया मल ल्याउँदै छ । उक्त मल असार अन्तिमदेखि साउनको दोस्रो साताभित्र नेपाल आइपुग्नेछ । भारतसँग जीटूजीमार्फत ८० हजार मेट्रिक टन मलका लागि भएको सम्झौताअनुसार पहिलो चरणमा ५० हजार मेट्रिक टन मल साउन दोस्रो साता नेपालमा भित्रिनेछ ।
अन्तर्राष्ट्रिय (ग्लोबल) टेन्डरमार्फत एक लाख ८० हजार मेट्रिक टन रासायनिक मल आयात गरिने मन्त्रालयले जनाएको छ । यसमध्ये ६० हजार मेट्रिक टन डीएपी र एक लाख २० हजार मेट्रिक टन युरिया रहेको छ । यो मल साउनको पहिलो सातासम्म नेपाल भित्रिने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ ।
ओमनमा लोडिङको प्रक्रियामा रहेको ३० हजार मेट्रिक टन युरिया मल असार अन्तिमसम्म कलकत्ता आइपुग्ने र साउनको दोस्रो सातामा नेपाल भित्रिनेछ ।
३० हजार मेट्रिक टन डीएपी होर्मुज पार भई भिसाखापटनम पोर्टमा पुगिसकेको र असार १९ देखि २० गतेसम्म नेपाल आइपुग्ने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले जनाएको छ । ३० हजार मेट्रिक टन युरिया मल जहाजमा लोड भइसकेको र साउन पहिलो साता कलकत्ता बन्दगाह हुँदै साउन अन्तिमसम्ममा नेपाल आइपुग्नेछ ।
कतारबाट ३० हजार मेट्रिक टन युरिया मल सिपमेन्ट भइसकेको र असार अन्तिम सातामा कलकत्ता आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । साउदी अरेवियाबाट ३० हजार मेट्रिक टन युरिया लोड भइसकेको र असार अन्तिम सातासम्म कलकत्ता आइपुग्ने कृषि कम्पनीले जनाएको छ ।
भियतनामबाट ३० हजार मेट्रिक टन डीएपी मल लोड भई असार अन्तिम सातासम्ममा कलकत्ता आइपुग्ने र साउन दोस्रो साता नेपाल भित्रिनेछ ।

