
होडेइडा । यमनको पश्चिमी होडेइडा प्रान्तमा हुथी विद्रोहीहरूसँग भएको वर्षौँयताकै सबैभन्दा हिंसात्मक भिडन्तमा परी १६ जना सरकारी सैनिक मारिएका छन्।

यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारका राज्यमन्त्री तथा मन्त्रीपरिषद् सदस्य वालिद अल(कुदैमीले शनिबार साँझ यस घटनाको पुष्टि गरेका हुन्।
उनका अनुसार यमनको पश्चिमी तटमा हिंसा चर्किएसँगै जबाफ डब्बास क्षेत्रमा भएको लडाइँका क्रममा तिहामा क्षेत्रका सैनिकहरू मारिएका हुन्। मिडियासँग कुरा गर्ने अनुमति नभएका कारण नाम गोप्य राख्ने सर्तमा एक सैन्य अधिकारीले भने, ‘यो वर्षौँयताकै सबैभन्दा घातक हुथी आक्रमण हो।’
हुथी लडाकुहरूले सुरुमा स्नाइपरहरूको प्रयोग गरेका थिए जसका कारण धेरै सैनिकको ज्यान गएको थियो। त्यसपछि विद्रोहीहरूले सैनिक पोस्टहरूलाई लक्षित गरी ड्रोन र मोर्टार प्रहार गरेका थिए।
अर्का एक सैन्य अधिकारीले फ्रान्सेली समाचार एजेन्सी एएफपीलाई दिएको जानकारी अनुसार सरकारी समर्थक फौजले धेरै घण्टासम्म चलेको भिडन्तपछि हुथीको सो आक्रमणलाई असफल तुल्याइदिएका छन्। सो भिडन्तका क्रममा हुथी विद्रोहीतर्फ पनि क्षति भएको दाबी गरिएको भए पनि मारिने वा घाइते हुनेहरूको यकिन सङ्ख्या भने खुलाइएको छैन।
हुथी विद्रोहीहरूले सन् २०१५ देखि यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारविरुद्ध सशस्त्र युद्ध लड्दै आएका छन्।

