
काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बालेन्द्र शाह नेतृत्वको सरकार उल्टो बाटोमा हिँडेको टिप्पणी गरेका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गन्तव्यमा पुग्न सही बाटोबाट हिँड्नुपर्ने बताएका हुन्।
प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नभएको बताउँदै उनले सत्ताको धुरी चढेपछि सांसदलाई अवमूल्यन गरेको आरोप लगाए। ‘विगतको १०० दिनमा प्रधानमन्त्रीज्यूको कार्यशैली हेरेपछि म प्रधानमन्त्रीज्यूलाई स्मरण गराउँछु– धुरीमा चढेपछि सिँढी भुल्न हुँदैन,’ उनले भने, ‘तपाईँ सत्तामा सत्ताको धुरी चढ्ने, अनि तपाईँलाई धुरीमा पुर्याउने संसद् बिर्सिने ? संसद्लाई अवमूल्यन गर्ने ?’
प्रधानमन्त्रीले संसद्मा उपस्थित हुनु भन्दा सामाजिक सञ्जालमा भाइरल हुन प्रभावकारी ठानेको बताए।
‘लोकतन्त्रमा लोकप्रिय हुनु र उत्तरदायी हुनु एउटै कुरा होइन सभामुख महोदय। सँगै म स्मरण गराउन चाहन्छु– प्रख्यात हुनु र लोकप्रिय हुनु पनि एउटै होइन,’ उनले भने,‘ सामाजिक सञ्जालमा भाइरल हुन सजिलो छ, तर देशको प्रधानमन्त्रीका रूपमा गहन र गम्भीर भएर कार्य गर्न गाह्रो छ।’
यस्तै, उनले प्रधानमन्त्रीलाई मुलुकलाई सही ढङ्गले ड्राइभ गर्न आग्रह गरे। उनले भने, ‘प्रधानमन्त्रीका रूपमा मुलुकलाई सही ढङ्गले ड्राइभ गर्नुहोस् एक्सप्रेस वे मा ड्राइभ गर्नुहोस्, तर निकै सम्हालेर गर्नुहोस्। दुर्घटना पर्दा तपाईँ मात्र होइन, सिङ्गो देश दुर्घटनामा पर्न सक्छ।’

