
काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीले नदी आसपासका क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएको छ। सडक विभागका अनुसार बाढी र पहिरोका कारण त्रिशूली नदी कोरिडोर तथा आसपासका क्षेत्रमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ।

बाढीले विभिन्न स्थानमा गरी कम्तीमा ४० किलोमिटर सडक पूर्ण वा आंशिक रूपमा भत्काएको तथा बगाएको विभागले जनाएको छ। सडक र पुलमा ठूलो क्षति पुगेपछि त्यस क्षेत्रमा यातायात आवागमन प्रभावित भएको छ। अवरुद्ध सडक तत्काल खुलाउन तथा क्षतिग्रस्त संरचनाको अस्थायी मर्मतका लागि सडक विभागले ठूला तथा हेभी मेसिनरी उपकरण परिचालन गरेको छ। प्रभावित क्षेत्रका संवेदनशील स्थानमा प्राविधिक टोलीसहित आवश्यक उपकरण तैनाथ गरी काम सुरु गरिएको विभागले जनाएको छ।
भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण सडक खुलाउने काम चुनौतीपूर्ण बनेको छ। कतिपय स्थानमा सडकको जग नै बगेको तथा पुलमा समेत गम्भीर क्षति पुगेकाले यातायात सेवा तत्कालै पूर्ण रूपमा सञ्चालनमा ल्याउन कठिन देखिएको विभागले जनाएको छ।
सडक विभागले जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। विभागले सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्नसमेत अनुरोध गरेको छ।

