नेकपा बहुमतद्वारा जेनीजी विद्रोह स्मरण

cp new add
Nisharg hospital

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष कञ्चनले जेनीजी विद्रोहको एक वर्ष पूरा भएको अवसरमा एक प्रेस वक्तव्य जारी गर्दै देशमा वैज्ञानिक समाजवादी सत्ता स्थापनाका लागि नयाँ प्रकारको जनवादी आन्दोलन सिर्जना गर्न आह्वान गरेका छन्।

वक्तव्यमार्फत पार्टीले गत वर्ष भाद्र २३ गते नेपाली युवाहरूले गरेको भीषण वर्गसंघर्ष र त्यसक्रममा २३ जना तथा पारि भाद्र २४ गतेसम्म कुल ५७ जना युवाले ज्यान गुमाएको घटनाप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरेको छ।

दुई दिनको जनविद्रोहले पुरानो सरकारलाई अपदस्त गरी नयाँ सरकार बने पनि विश्वमै दुर्लभ भनिएको यस घटनाको राजनीतिक परिणाम जनअपेक्षित हुन नसकेको र पुरानै शैलीको पुनरावृत्ति भएको पार्टीको ठहर छ। वक्तव्यमा गत वर्षको जनविद्रोह हुनुको पृष्ठभूमि स्पष्ट पार्दै सत्ताधारी संसद्वादी दलाल पुँजीवादी पार्टीहरूको अराजकता, संस्थागत भ्रष्टाचार, कुशासन, बेथिति, जनतामाथिको चरम शोषण-उत्पीडन, र आम युवाको विदेश पलायन जस्ता मुद्दाहरू विस्फोटन विन्दुमा पुगेको उल्लेख गरिएको छ। तर, आन्दोलनपछिको सरकारमा पनि ूव्यवस्था होइन, अवस्था बदल्ने सुधारवादी नारा दिएका एकाधिकार पुँजीपति वर्गका दलाल तथा नोकरशाही पुँजीपति वर्गको एकपक्षीय नेतृत्व हावी भएको र जनताले बारम्बार धोका व्यहोर्नु परेको बताइएको छ। वर्तमान सत्ताधारीहरूको जनविरोधी र अन्तरीहित चरित्रका कारण देशभर सुकुम्बासीहरूका विरुद्ध राज्य आतंक चलाइएको, किसानविरोधी बजेट निर्माण गरिएको, पुँजीपतिको पक्षपोषण गर्ने कानुन र बोल्ने अधिकार कुण्ठित गर्ने नियमहरू बनाइएको आरोप लगाइएको छ। शिक्षा, स्वास्थ्य र साना व्यवसायमा कर बढाइएको तथा पीडितहरूको उद्धारमा स्वयम् प्रधानमन्त्रीले बेवास्ता गरी उनीहरूलाई अन्तर्राष्ट्रिय वित्तीय माफियासँग व्यापारीकरण गर्ने योजना देखाएको भन्दै सो पार्टीले सआपत्ति जनाएको छ। पुँजीवादी व्यवस्थाले उत्तरआधुनिकतावादी दृष्टिकोणमार्फत उपभोक्तावाद, अराजकता, व्यक्तिवाद र विसर्जनवादी विकृति फैलाइरहेको र यसले पुँजीवादी शोषणलाई नै ठूलो फाइदा पुर्याएको वक्तव्यमा औंल्याइएको छ।

अन्तर्राष्ट्रिय परिदृश्यबारे चर्चा गर्दै, भूमण्डलीकृत साम्राज्यवाद र त्यसका विकासोमुख दलाल शासकहरू तथा उत्पीडित जनताबीचको अन्तरविरोध चुलिंदै गएको र भारत, बंगलादेश लगायत विश्वभर देखिएका उथलपुथलहरू साम्राज्यवादी संकटकै अभिव्यक्ति रहेको उल्लेख गरिएको छ। यो अवस्थामा जनवादी दृष्टिकोण भएका समाजवादी, मार्क्सवादी(लेनिनवादी(माओवादीहरू एकजुट हुनु ऐतिहासिक आवश्यकता भए पनि जेनीजी आन्दोलनमा उत्रिएका युवाहरूमा स्पष्ट दृष्टिकोण र संघर्षपछि सत्ता आफ्नै हातमा लिने योजना नहुँदा सत्ता एकाधिकारवादी दलाल तथा नोकरशाहहरूको हातमा पुग्न गएको पार्टीको निष्कर्ष छ।

देशका समस्याहरू थप जटिल बन्दै गएको र नेपाली प्राकृतिक स्रोतमाथि साम्राज्यवादी लगानी एवं एमसीसी, एसपीपी, विप्पा जस्ता सम्झौताहरू थोपरिँदा देशमा महँगी बढेको, उत्पादन घटेको तथा युवा पलायन तीव्र भएको भन्दै पार्टीले चिन्ता व्यक्त गरेको छ। तसर्थ, नेपाली युवाहरूले वैज्ञानिक विश्वदृष्टिकोण निर्माण गर्नु पहिलो वैचारिक आवश्यकता र दलाल पुँजीवादी सत्ताविरुद्ध संघर्ष गरी वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नु अर्को व्यावहारिक आवश्यकता भएको उल्लेख गरिएको छ।

अन्तमा, देशभार छरिएका क्रान्तिकारी पार्टी, संगठन र व्यक्तिहरूलाई एकजुट बनाई सबै प्रकारका उत्पीडनको अन्त्य गर्दै नेपालका श्रमजीवी र प्रगतिशील जनताको भलाइका लागि नयाँ प्रकारको जेनीजी आन्दोलन सिर्जना गर्न र सत्ता परिवर्तनको आन्दोलनमा व्यवस्थित रूपमा होमिन पार्टीले हार्दिक अपील गरेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...