
धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कार्य सम्पादन मूल्यांकनमा देशभरमै उत्कृष्ट भएको छ । प्रहरी प्रधान कार्यालयले भदौ महिनामा गरेको कार्य सम्पादन मूल्यांकनमा प्रदेश प्रहरी कार्यालय धनगढीलाई उत्कृष्ट घोषणा गरेको होे ।
प्रदेश प्रहरी कार्यालयले कुल ३८६ पूर्णाकमा भदौमा ३३९.९८ अंक प्राप्त गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दोस्रो भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको नेतृत्व डीआईजी सानुुराम भट्टराईले गरिरहेका छन् ।
तालिम केन्द्रतर्फ प्रदेश तालिम केन्द्र दिपायल पहिलो भएको छ भने ट्राफिक प्रहरी कार्यालय अत्तरिया तेस्रो भएको छ । हिमाली जिल्ला अन्तरगत अघिल्लो महिना उत्कृष्ट बनेको जिल्ला प्रहरी कार्यालय बझाङ रेकर्ड कायम राख्दै यो महिना पनि पहिलो बनेको छ ।
दार्चुला दोस्रो र बाजुरा चौथो भएका छन् । तराईका जिल्ला अन्तरगत क वर्गमा जिल्ला प्रहरी कार्यालय कैलाली पाँचौँ, ख वर्गमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर दोस्रो स्थानमा छन् । पहाडी जिल्लामा अछाम पाँचौँ, डडेल्धुरा १४ औँ, बैतडी २१ औँ स्थानमा छन् भने जिल्ला प्रहरी कायार्यलय नवौँ स्थानमा छ ।
प्रहरी प्रधान कार्यालयले हरेक महिना कार्य सम्पादन मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै आएको छ ।

