
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार ‘नागरिकलाई जति हेपे पनि हुन्छ भन्ने ठाउँमा पुगेको’ आरोप लगाएका छन् ।
उनले सरकारमाथि त्यस्तो आरोप लगाउन पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउको प्रकरणलाई उदाहरणका रूपमा पेस गरे ।
‘कानुनको शासनमा चल्ने सरकारले कहीँ त्यस्तो व्यवहार गर्न सक्छ र ? सरकारको प्रवक्ताको जवाफले सबैभन्दा बढी स्तब्ध भएँ,’ थापाले भने, ‘त्यो नागरिकलाई हेपेको हो । नागरिकलाई जति हेपे पनि हुन्छ भन्ने ठाउँमा सरकार पुगिसक्यो जस्तो लाग्छ । हाम्रा लाखौं ‘फलोअर्स’ छन्, जताजतै ‘लाइक नै लाइक’ छ । त्यसैले सुकुम्बासी उठाएर फालिदिए पनि हुन्छ, नागरिकको घरअगाडि गाडी ल्याएर राखिदिए पनि हुन्छ, राति सुतिरहेको ठाउँबाट उठाएर लगे पनि हुन्छ भन्ने प्रवृत्तिको विरोध गर्नैपर्छ ।’
सरकारका कामबारे अहिले मधुरो स्वरमा विरोध गरेको भन्दै उनले अब त्यसो नगर्ने समेत बताए । ‘हामीले ६ महिना जति स्वर सानो बनाएकै हो,’ उनले भने, ‘विषयवस्तु छाडेको छैनौं तर प्रस्तुत गर्ने सन्दर्भमा हाम्रो स्वरलाई केही मधुरो बनाएका हौं । अहिलेको समय र सामाजिक मनोविज्ञानलाई बुझेर यो रणनीति लिएका हौं ।’
के उसो भए सरकारविरुद्ध सडक आन्दोलनमा जानुहुन्छ भन्ने प्रश्नमा थापाले सरकारले एकदमै बलियो ‘म्यान्डेट’ पाएको बताए । ‘हामी पहिल्यै योजना बनाएर सडकमा जान्छौं भन्ने होइन,’ उनले भने, ‘सरकारले एकदमै बलियो ‘म्यान्डेट’ पाएको छ । यो विषय प्रस्ट छ । सुशासन दिन र अर्थतन्त्र सुधार गर्न भनेर यो ‘म्यान्डेट’ पाएको हो । नागरिकले दिएको ‘म्यान्डेट’अनुसार काम गर्ने सन्दर्भमा हामी सहेरै आएका छौं ।’

