


धनगढी । काठमाडौँबाट महेन्द्रनगर आउँदै गरेको यात्रुवाहक बसमा महिला यात्रुमाथि दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरका तीन युवक पक्राउ परेका छन् । बसभित्र उनीहरूले महिला यात्रुमाथि गरेको दुर्व्यवहारको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाले व्यापक चासो पाएको थियो ।


पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–९ का समीर बिष्ट, अनिल नाथ योगी र भीमदत्त नगरपालिका–३ तिलकेनीका जीवन बम रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले उनीहरूलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जानकारी दिए ।





उनका अनुसार गत १७ कात्तिकमा काठमाडौँबाट महेन्द्रनगर आउने क्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै पीडित युवतीले प्रहरीमा निवेदन दिएपछि तीनै जनालाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार महाकाली यातायातको सुपप्र ०२–००१ ख १५६५ नम्बरको बसमा जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको घटनाको भिडियो सार्वजनिक भएपछि घटनाबारे थप चासो बढेको थियो ।

भिडियो सार्वजनिक हुनुअघि नै सोही राति बसमा सवार यात्रुहरूले उनीहरूलाई वडा प्रहरी कार्यालय बुटवलको जिम्मा लगाएका थिए । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार महिलामाथि दुर्व्यवहार भएको सूचना पाएपछि प्रहरी टोलीले मध्यरातमा बुटवल चौराहबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
बुटवल प्रहरीको हिरासतमा एक रात राखिएपछि उनीहरूलाई महेन्द्रनगर पठाइएको थियो । पीडित महिलाहरूले समेत महेन्द्रनगर नै पठाइदिन आग्रह गरेपछि त्यहाँ पठाइएको डीएसपी श्रीवास्तवले बताए ।
त्यसपछि पीडित युवतीको निवेदनका आधारमा कञ्चनपुर प्रहरीले तीनै जनालाई पुनः नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको हो ।
बसका कर्मचारीका अनुसार काठमाडौँबाटै बस चढेका तीनै जना युवकले धादिङको धार्केदेखि मदिरा सेवन गरेर होहल्ला गर्न थालेका थिए । उनीहरूले महिला यात्रुलाई लक्षित गर्दै अपशब्द प्रयोग गर्नुका साथै अभद्र व्यवहार गर्न थालेपछि अन्य यात्रुले पटक–पटक सम्झाएका थिए ।
तर, यात्रुको आग्रहलाई बेवास्ता गर्दै उनीहरूले दुर्व्यवहार जारी राखेपछि बसभित्रको वातावरण तनावपूर्ण बनेको थियो । सोही क्रममा उनीहरूले महिला यात्रुमाथि गरेको दुर्व्यवहार बसमा जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको थियो । अहिले उक्त भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ ।






