पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको आकर्षण बढ्दै, दुई महिनामा १३ हजार बढीले गरे यात्रा

cp new add
Nisharg hospital
Dhangadhi
कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै गएको छ । फ्लाइ दुबईको दुबई–पोखरा–दुबई उडानमार्फत दुई महिनामै १३ हजार ४७४ यात्रुले सेवा लिएपछि विमानस्थलप्रति आकर्षण बढेको देखिएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार गत असोज ७ देखि मङ्सिर ७ गतेसम्म फ्लाइ दुबईले गरेको १२२ वटा दुईतर्फी उडानबाट उक्त सङ्ख्यामा यात्रुले सेवा लिएका हुन् । यस अवधिमा दुबईबाट पोखरा ८ हजार ११५ यात्रु आएका छन् भने पोखराबाट ५ हजार ३५९ जना दुबई गएका छन् ।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले फ्लाइ दुबई र यसको साझेदार वायुसेवा कम्पनी एमिरेट्समार्फत एउटै टिकटबाट विश्वका ३०० भन्दा बढी गन्तव्यमा यात्रा गर्न सकिने सुविधाले पोखरा–दुबई उडानको सम्भावना बढाएको बताए ।

उनका अनुसार पोखरामै भारतीय नागरिकलाई अनापत्ति प्रमाणपत्र (एनओसी) उपलब्ध गराउने व्यवस्था भए यस मार्गमा यात्रुको सङ्ख्या अझै बढ्न सक्छ । हाल नेपालमा रहेका भारतीय नागरिकले भारतबाहेक अन्य मुलुकमा हवाई यात्रा गर्दा काठमाडौँस्थित भारतीय दूतावासबाट एनओसी लिनुपर्ने व्यवस्था छ । यसका लागि दूतावाससँग पहल भइरहेको उनले जानकारी दिए ।

२०७९ पुस १७ गते उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । फ्लाइ दुबईले पहिलोपटक नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेसँगै विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई यात्राको चहलपहल बढ्न थालेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...