

धनगढी । महाकाली नगरपालिका–८ असिगडामा बनेको दार्चुलालाई भारतसँग जोड्ने मोटरेबल पुल सोमबार विधिवत रूपमा उद्घाटन भयो ।
भारतीय कम्पनी पीएन्डआर इन्फ्राप्रोजेक्ट लिमिटेडले ३२ करोड ९८ लाख भारतीय रुपैयाँमा निर्माण गरेको पुल प्रधानमन्त्री बालेन शाह र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
दिल्लीबाट भर्चुअल माध्यमबाट पुल उद्घाटन हुने बेला दुवै देशका अधिकारीसहित वारिपारिका स्थानीयको पुल निर्माणस्थलमा उल्लेख्य उपस्थिति थियो । उनीहरूबीच मोटेरेबल पुलको माध्यमले दुई देशमा पहुँचमार्ग विस्तार भएको खुसीयाली भिन्नै थियो ।
तर, छिमेकी जिल्ला बैतडीको झुलाघाटमा भने वर्षौंदेखि निर्माणको चर्चा पाएको र भारतीय प्रतिबद्धता एवं प्राविधिक अध्ययनसमेत भइसकेको मोटेरेबल पुलको चर्चा त्यसै सेलायो ।
लामो समयदेखि पुल निर्माणका लागि खबरदारी र दबाबमूलक कार्यक्रम गर्दै आएका उद्योग वाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्द समेतका बैतडीवासी प्रधानमन्त्री बालेनको भारत भ्रमणको एजेन्डामा यो पुल पर्छ भन्नेमा आशावादी थिए ।
त्यसका लागि उनीहरूले प्रधानमन्त्रीको भ्रमणअघि जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य, रास्वपाका नेता–कार्यकर्तामार्फत सरकारसम्म आवाज पुर्याएका थिए । तीन दशकदेखि झुलाघाटमा मोटेरेबल पुल बन्ने सपना देख्दै आएका स्थानीयवासीमा फेरि निराशा छाएको छ ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण गर्दा पनि नरेन्द्र मोदी नै भारतका प्रधानमन्त्री थिए । मोदीले सम्बोधनका क्रममा झुलाघाट र डडेल्धुराको शीर्षमा पक्की पुल निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए । त्यो प्रतिबद्धताले बैतडीवासीमा आशाको सञ्चार भएको थियो ।
अहिले प्रधानमन्त्री बालेनको भ्रमणमा न भारतको पुरानो प्रतिबद्धता दोहोरियो न त नेपाल सरकारको प्राथमिकतामा झुलाघाट पर्यो । दुवै देशले झुलाघाट पुलको मुद्दा उच्चारणसम्म नगरेपछि संघर्षरत पक्ष निराश बनेको छ ।
यो पुल निर्माणका लागि संघर्ष गर्दै आएका उद्योग वाणिज्य संघ बैतडीका अध्यक्ष चन्दले झुलाघाट पुलको विषय दुवै देशको प्राथमिकतामा नपरेकोमा दुस्ख व्यक्त गरे ।
‘झुलाघाटमा मोटेरेबल पुल निर्माण गर्न दुवै देशले उहिल्यै प्राविधिक अध्ययन गरिसकेका थिए । प्रधानमन्त्रीको भ्रमणबाट थप प्रक्रिया अघि बढ्ने हाम्रो अपेक्षा थियो,’ चन्दले निराश हुँदै भने, ‘तर प्रधानमन्त्रीको भारत भ्रमणमा झुलाघाट पुलको मुद्दाले प्रवेश नै पाएन । यो हाम्रा लागि दुस्खद कुरा हो ।’
चन्दले झुलाघाटमा पुल नबनेसम्म भारतमा रहेको आफ्नो ससुराली घर नजाने कसम खाएका छन् । करिब २५ वर्षदेखि आफू ससुराली नगएको उनले बताए । उनकै अगुवाइमा पुल निर्माणका लागि पटकपटक विभिन्न दबाबमूलक कार्यक्रम भइसकेका छन् ।
मोदीको त्यो प्रतिबद्धता, यो मौनता
१८ जेठ २०८० मा दुई देशबीच झुलाघाट मोटेरेबल पुल निर्माणको विषयले औपचारिकता पाएको थियो ।
तत्कालीन प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा नयाँदिल्लीमा समकक्षी नरेन्द्र मोदीले नेपालको सीमा सम्पर्क विस्तार गर्न महाकाली नदीमाथि झुलाघाट र शीर्षमा थप दुई वटा पुल निर्माण गर्ने घोषणा गरेका थिए ।
नेपाल सरकारको परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा पनि भारत सरकारको अनुदान सहयोगमा महाकाली नदीमाथि झुलाघाट र शीर्षमा पक्की पुल निर्माण गर्ने सहमति भएको उल्लेख थियो ।
तर, दुई देशका प्रधानमन्त्रीस्तरबाट घोषणा भएको तीन वर्षभन्दा बढी समय बितिसक्दा पनि पुल निर्माणको विषय अलपत्र छ । त्यो प्रतिबद्धतापछि प्राविधिक टोलीले निरीक्षण गर्दै ५०० मिटरभन्दा लामो पुलको प्रस्तावसमेत गरेको थियो ।
निरीक्षणका क्रममा नेपालतर्फ बैतडीको मौराभिर तथा सालघारी क्षेत्र र भारततर्फ पिथौरागढ जिल्लाको झुलाघाटस्थित एसएसबी क्याम्प आसपासको क्षेत्रलाई सम्भावित निर्माणस्थलका रूपमा हेरिएको थियो ।
यो स्थानमा करिब ५०० देखि ५१० मिटर लामो दुई लेनको मोटरेबल पुल निर्माण गर्ने प्रस्ताव अघि बढाइएको थियो ।
पुल निर्माणको प्रारम्भिक लागत भारतीय रुपैयाँ चार अर्ब ५० करोड आसपास अनुमान गरिएको विवरणसमेत सार्वजनिक भएको थियो । तर त्यसपछि थप प्रक्रिया अघि बढेको छैन ।
पुल निर्माणको प्रतिबद्धता जनाएका भारतीय प्रधानमन्त्री मोदी यो पटक मौन बसेपछि स्थानीयमा आशंका पैदा भएको छ । खासगरी पुरानो प्रतिबद्धता कार्यान्वयन नगर्ने भारतीय पक्षले नयाँ सम्झौता र प्रतिबद्धता कसरी कार्यान्वयन गर्ला भन्ने शंका गर्न थालिएको हो ।
यति मात्रै होइन, झुलाघाट पुल निर्माणको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० समेत तयार गरिएको थियो । २०८० सालमै नेपाल–भारत सीमा समन्वय बैठकमा नेपाली पक्षले झुलाघाट मोटरेबल पुलको डीपीआर तयार गरी भारत सरकारलाई पठाइसकेको जानकारी पनि दिएको थियो । तर भारतीय पक्ष पुल निर्माणका लागि तयार नभएको बुझाइ स्थानीयस्तरमा छ ।
३ दशकदेखि चर्चा, बारम्बार अध्ययन
झुलाघाटमा मोटरेबल पुल निर्माण हुने विषय तीन दशकदेखि नै चर्चामा छ । सन् १९९८ अर्थात् २०५५ सालतिर पुल निर्माणका लागि प्रारम्भिक सर्वेक्षण गरियो । एक वर्षपछि सन् १९९९ मा करिब ९० मिटर लामो पुलको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गर्दै सार्वजनिक पनि भएको थियो ।
त्यो बेला झुलाघाटमा ६ करोड ५० लाख रुपैयाँ लागतमा पुल बन्ने अध्ययन थियो । सन् २००० मा नेपाल र भारतबीच झुलाघाटमा मोटरेबल पुल निर्माण गर्ने सहमति भयो । तर सहमति भएको वर्षौं बित्दा पनि त्यसले मूर्त रूप लिन सकेको छैन ।
सन् २००६ मा पुनस् करिब १०५ मिटर लामो पुल निर्माणको प्रस्ताव अघि बढाइएको थियो । तर प्रस्तावित स्थान पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् परियोजनाको सम्भावित डुबान क्षेत्रमा पर्ने भएपछि प्रक्रिया अगाडि बढ्न सकेन ।
पञ्चेश्वर परियोजनाको अनिश्चितता र पुल निर्माणस्थलको प्राविधिक जटिलताले झुलाघाट पुलको विषयलाई थप अन्योलमा पारेको देखिन्छ ।
२७ असोज २०७३ मा दिल्लीमा सम्पन्न नेपाल–भारत संयुक्त आयोगको चौथो बैठकमा महाकाली नदीमाथि झुलाघाट, शीर्ष र दार्चुला क्षेत्रमा मोटरेबल पुल निर्माण गर्ने प्रस्तावबारे छलफल भएको थियो । दार्चुलामा एउटा पुल निर्माण भएर सञ्चालनमा आइसक्दासमेत झुलाघाटको सपना अधुरै रहेको छ ।
पुल निर्माणका लागि सरकारलाई दबाब दिन २०७६ सालमा स्थानीयवासी आन्दोलित भएका थिए । उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष चन्दकै नेतृत्वमा थालिएको आन्दोलनमा रिले अनसन, हस्ताक्षर संकलन र ज्ञापनपत्र बुझाउने काम भए ।
त्यो बेला १० हजार नागरिकको हस्ताक्षर संकलन गरी नेपाल सरकार र भारतीय दूतावासमा ज्ञापनपत्र बुझाइएको थियो । बैतडीलाई भारतको उत्तराखण्ड पिथौरागढ जिल्ला जोड्ने महाकाली नदीको यो पुल निर्माण भए दुवै देशले लाभ लिन सक्नेछन् ।
देश दुई वटा भए पनि यहाँका नागरिकबीच पुस्तौँदेखि सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्ध जोडिएको छ । पुल बनेमा सहज आवागमन मात्र नभएर दुई देशको व्यापारिक, धार्मिक र पर्यापर्यटनको क्षेत्रमा समेत कोशेढुंगा सावित हुने देखिन्छ ।

