

१९ असार, काठमाडौं । नरेन भट्टको उत्कृष्ट शतक र अभिशेख तिवारीको उत्कृष्ट बलिङमा नेपालले एसीसी यू-१६ इस्ट जोन कपको उपाधि जितेको छ । २ सय ५३ रनको लक्ष्य पच्छ्याएको मलेसिया ३१ रनमा समेटियो। मलेसियालाई सस्तोमा समेट्न नेपालका अभिशेख तिवारी एक्लैले ५ विकेट लिए ।
सन्तोष यादबले ३ तथा सागर गैरे र अशोक धामीले एक एक विकेट हात पारे । मलेसियाले १४.५ ओभरमा सबै विकेट गुमाएको थियो। मलेसियाका ५ जना ब्याट्सम्यानले खाता खोल्न सकेनन् । मुहम्मद अक्रमले सर्वाधिक १० रन बनाए। मलेसियाले पहिलो ओभरमै २ विकेट गुमाएको थियो ।
अभिशेकले ६ ओभरमा एक मेडन राख्दै ७ रन खर्चिए। ३ ओभर बलिङ गरेको सन्तोषले २ मेडन राख्दै ९ रन दिएका थिए । यसअघि नेपालले निर्धार ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो ।
नेपालका लागि नरेन भट्टले ८९ बलमा अविजित रहँदै ११२ रन बनाए । उनले १० चौका र २ छक्का हानेका थिए । यस्तै निरज यादवले ४७ रन बनाउँदा सूर्यांशु कोइरालाले १८ रन बनाए । उनीहरुले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए ।

