७ भदौ, धनगढी । नेकपा विप्लवले मंगलबारका लागि आह्वान गरेको नेपाल बन्द सकिएको छ । साँझ ५ बजेपछि बन्दका कार्यकर्ता फिर्ता लिएसँगै सुदूरपश्चिम प्रदेशमा समेत जनजीवन समान्य बन्दै गएको छ ।
बन्दका कारण दिनभर चल्न नसकेका सवारी साधनहरु गन्तव्यतर्फ जान थालेका छन् भने बजार व्यवसाय समेत सञ्चालनमा आएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा बन्दको प्रभाव परेपनि कुनै अप्रिय घटना भने नभएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भोला रावलले जानकारी दिए ।
रावलकाअनुसार कैलाली र बैतडीमा गरेर चार ठाउँमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेपनि नेपाली सेनाको टोलीले निष्क्रीय पारेको छ भने अन्य कुनै अप्रिय घटना भएको छैन । उनकाअनुसार कैलालीको अत्तरिया, हरैया बर्दगोरिया गाउँपालिका तथा बैतडीको सुर्नया गाउँपालिकामा भेटिएको शंकास्पद वस्तु निष्क्रीय पारिएको हो ।
प्रदेशमा बन्द गराउदै हिडेका तथा सवारी साधनमा ढुङ्गामुढा गरेको आरोपमा १९ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको छ । सबैभन्दा बढि बाजुरामा १० जना, कैलालीमा चार, कञ्चनपुरमा तीन र डोटीमा दुई जनालाई पक्राउ गरिएकोमा बन्द खुलेसँगै उनीहरुलाई छाडिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।