९ भदौ, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–११, घोडसुवा गाउँको बरपिपल टोल । पुरानो कच्ची घरको अगाडि एउटा गोठ, हिलाम्मे र दुर्गन्धित । टिनको छाना र चारैतिर नाममात्रको काठपातले बेरेको गोठमा एउटा पुरानो मक्किन लागेको खाट माथि निर्वस्त्र अवस्थामा टुक्रुक्क बसिरहेका एक युवक । उनी हुन्, ३० वर्षीय शुकराम चौधरी ।
पूर्ण नग्न अवस्थामा रहेका शुकरामको जीउभरि हिलो लागेको छ । मानौँ उनी हिलोमै सुत्छन् । उनलाई बायाँ हातमा फलामे साङ्लोले बाँधेर त्यही गोठमा राखिएको छ ।शुकराम साङ्लोमा बाँधिएर गोठमा बस्न लागेको ७ वर्ष भइसक्यो । मानसिक अवस्था कमजोर भएका शुकरामलाई उनको परिवारले उपचार गर्न नसकेपछि गोठमा पशु झैँ राखिएको छ ।
शुकरामलाई यसरी साङ्लोले बाँधेर ७ वर्षदेखि किन गोठमा राखियो ? लामो सुस्केरापछि उनकी आमा कुनकी चौधरीले व्यथा पोखिन्– २ छोरा छन् । जेठो छोरो शुकरामलाई मानसिक रोग लाग्यो । त्यति नै बेला ससुरा बिरामी परे । ऋण सापट गरेर ससुराको उपचार गरेँ । तर, पैसा नहुँदा छोराको उपचार गर्न सकिनँ । छोराको रोग बढ्दै गयो । हामी दिनभरि ज्याला मजदुरी गर्न जान्छौँ । घरमा छोरालाई एक्लै छोड्दा गाउँभरि भौँतारिन्छ । त्यही भएर हात बाँधेर गोठमा राखेर काममा जान्छु ।
कुनकीको परिवार दैनिक ज्याला मजदुरी र अरूको जग्गा अँधिया कमाएर गुजारा गर्दै आएको छ । ऋण सापट गरेर छोरोको उपचारमा ६ लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेँ । अहिले ऋणको ब्याजसमेत तिर्न नसकेर तनावमा छु । उनले आफैँसँग प्रश्न गरिन्– राम्रो अस्पतालमा लैजान पाए सायद छोराको रोग सन्चो हुन्थ्यो कि ?
शुकराम जन्मैदेखि मानसिक रोगी भने होइनन् । उनी ८ वर्षको हुँदा एउटा दुर्घटनापछि उनी मानसिक रोगी बनेका हुन् । एक दिन घर नजिकै जामुन टिप्न रुख चढेका शुकराम रुखबाट खसे । उनलाई गाउँको एक मेडिकलमा लगियो । मेडिकलवालाले सामान्य औषधि दिए । तर, उनको अवस्थामा सुधार भएन । आमा कुनकीका अनुसार दुर्घटनापछि शुकरामले स्कुल जान इच्छा गर्न छोडे । कापीकिताब बारीमा लगेर फिँजाउने, असमान्य व्यवहार गर्न थाले ।
उनका बाआमाले उनलाई उपचारका लागि धनगढी र महेन्द्रनगर अस्पताल पुर्याए । उनको रोग पत्ता लागेन । कुनकीले त्यतिबेलाको अवस्था स्मरण गरिन्– ुकेही सीप नचलेपछि उपचारका लागि भारतको बरेली लगेँ । त्यहाँको डाक्टरले मानसिक रोग भएको बताए । औषधि सेवनपछि छोराको अवस्थामा बिस्तारै सुधार देखियो । हरेक १५ दिनमा उपचारका लागि ल्याउनु भनेको थियो । तर पैसा नभएकाले लैजान सकेनौँ ।ु
शुकरामको अवस्था बिग्रिँदै गयो । उनी असमान्य व्यहार गर्न थाले । केही उपाय नभएपछि २०७२ सालदेखि छोरालाई गोठमा बाँधेर राख्ने गरेका छौुं( उनले भनिन्– त्यही गोठमा बस्छ । हात बाँधेकै अवस्थामा खाना खान्छ । उतै दिसापिसाब गर्छ । कहिलेकाहीँ मोटर चलाएर शरीर सफा गर्छौं ।
शुकरामकी भाइबुहारी हिमा चौधरीले गरिबीका कारण जेठाजुलाई गोठमा बाँधेर राख्नुपरेको बाध्यता सुनाइन् । मनोविद् यभन श्रेष्ठले शुकरामलाई कडाखालको मानसिक रोगले च्यापेका कारण नियमित रुपमा डाक्टरको निगरानीमा राख्नुपर्ने बताए ।
शुकरामको दयनीय अवस्था थाहा पाएपछि वडा नम्बर ११ का वडाध्यक्ष रुपबहादुर कुँवरले वडाबाट उनको उपचारका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने– शुकरामको परिवारको आर्थिक अवस्था निकै कमजोर छ । आर्थिक अवस्थाका कारण एक हट्टाकठ्ठा युवक उपचार नपाएर छट्पटाइरहेको छ । त्यसैले सबैले उसको उपचारका लागि सहयोग गर्न अनुरोध गर्दछु । यो समाचार धनराज बिकले कोसी अनलाइनमा लेखेका छन् ।