कैलाली-कञ्चनपुरमा लागूऔषधसहित ८ जना पक्राउ, खैरो हिरोइन बरामद

cp new add
Nisharg hospital
suchana

धनगढी । सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा प्रहरीले लागूऔषधविरुद्ध अभियान तीव्र बनाउँदै एकैदिन ८ जनालाई पक्राउ गरेको छ। विभिन्न स्थानबाट खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

धनगढी उपमहानगरपालिका–८ राधास्वामी मन्दिर नजिकबाट ४ ग्राम २०० मिलिग्राम खैरो हिरोइनजस्तो पदार्थसहित ३० वर्षीय संजय राना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले शंकास्पद अवस्थामा चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारेको हो।

यसैगरी, भजनी नगरपालिका–५ गुलरियाघाटबाट ५०० मिलिग्राम खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–४ का २० वर्षीय करन बिक र २६ वर्षीय चन्दरे टमट्टा रहेका छन्। उनीहरू भारतबाट नेपालतर्फ आउँदै गरेको सुपप्र ०१–०१२ प ९०१० नम्बरको मोटरसाइकलमा सवार थिए। इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले चेकजाँच गर्दा उनीहरूको साथबाट लागूऔषध फेला परेको हो।

त्यस्तै, भजनी नगरपालिका–३ कुसुमघाटबाट ५ ग्राम ७० मिलिग्राम खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा जानकी गाउँपालिका–१ का ४४ वर्षीय सुरेन्द्र चौधरी, ३० वर्षीय भुवन कठरिया र २१ वर्षीय प्रसन चौधरी रहेका छन्। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भजनी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई दुई वटा साइकलसहित नियन्त्रणमा लिएको हो।

उता कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित भन्सार ब्यारेल नजिकबाट ५ ग्राम ६० मिलिग्राम खैरो हिरोइनसहित २९ वर्षीय रबिन बिष्ट पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीको संयुक्त टोलीले भारतबाट आएको युके–०३ टीए ७७२७ नम्बरको भारतीय कार जाँच गर्दा उक्त पदार्थ फेला पारेको हो।

त्यसैगरी, कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ क्याम्प चेकपोष्ट नजिकबाट २ ग्राम ६०० मिलिग्राम खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ का २३ वर्षीय मनिष थापा र बेलडाँडी–५ झिलमिलाका २५ वर्षीय मनोज खड्का रहेका छन्।

प्रहरीले सबै घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ। लागूऔषध नियन्त्रणका लागि सीमा क्षेत्रहरूमा निगरानी थप कडा पारिएको प्रहरीको भनाइ छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...