
बैतडी । बैतडीमा जेठ ३ गतेबाट सर्वाधिक धनराशीको खुल्ला भलिबल प्रतियोगिता हुँदैछ ।

नेपाल खेलकुद महासंघ बैतडीको आयोजनामा दशरथचन्द नगरपालिका—२ स्थित प्रसिद्ध शक्तिपीठ निङ्गलाशैनी भगवती मन्दिरको खेलमैदानमा प्रतियोगिता हुने शनिबार पत्रकार सम्मेलनमार्फत जनाइएको हो ।
जेठ ३ गते मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रतियोगिताको उद्घाटन गरिने महासंघका जिल्ला कमिटी अध्यक्ष भुपेन्द्र चन्दले बताए ।
प्रतियोगितामा जिल्लाका १० ओटै स्थानीय तहका खेलाडी सहभागी हुनेछन् । महिला तथा पुरुष खुल्ला भलिबल प्रतियोगिताको विजेताले ७७ हजार ७ सय ७७ नगद पुरस्कार पाउने बताइएको छ ।
द्वितीय पुरस्कार ५५ हजार ५ सय ५५ , तृतीय पुरस्कार ४४ हजार ४ सय ४४ र सान्त्वना पुरस्कार ३३ हजार ३ सय ३३ राखिएको महासंघका जिल्ला कमिटी अध्यक्ष चन्दले बताए ।
त्यसैगरी अनुशासित टिमलाई ११ हजार १ सय ११, उत्कृष्ट खेलाडीलाई ७ हजार ७ सय ७७, बेष्ट स्पाइकर, बेष्ट सटर, बेस्ट ब्लकर, बेष्ट डिफेन्डर, बेष्ट सरबर, उदयमान खेलाडी, सिनियर खेलाडीलाई जनही ३ हजार ३ सय ३३ नगद पुरस्कार प्रदान गरिने बताइएको छ ।
उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट व्यवस्थापकलाई ५ हजार ५ सय ५५ पुरस्कार सहति सम्मान गरिनेछ ।

