
धनगढी । भाैगाेलिक रूपमा अत्यन्तै विकट कैलालीको चुरे गाउँपालिका-२ मा फाया नेपाल नामक गैर सरकारी संस्थाले निर्माण गरेको स्वास्थ्य चाैकी भवन हस्तान्तरण गरिएको छ ।
फाया नेपालले जापानकाे परराष्ट्र मन्त्रालय र आम्दा माइन्ड्सकाे आर्थिक तथा प्राविधिक सहयोगमा मातृ तथा बाल स्वास्थ व्यवहार प्रवर्द्वन परियाेजना अन्तरगत खैराला स्वास्थ्य चाैकी भवन निर्माण गरेकाे थियोे ।
झण्डै दुई करोड अर्थात् एक कराेेड ९९ लाख ३५ हजारकाे लागतमा निर्माण गरिएको भवन फाया नेपालका अध्यक्ष लाेकराज भट्ट र आम्दा माइन्ड्सकी नेपाल प्रमुख माइकाे काेवाइसी (उप्रेती) ले संयुक्त रूपमा चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बाेगटीलाई हस्तान्तरण गरेका हुन् ।
स्वास्थ चाैकी भवन हस्तान्तरण गरे लगत्तै साेमबार नै विधिवत् रूपले उद्घाटन गरिएको छ ।

गाउँपालिका अध्यक्ष बाेगटीले उद्घाटन गर्दै स्वास्थ चाैकी भवन निर्माण सहयोग गरेकोमा दातृ निकायलाई धन्यवाद दिए ।
उनले भवन अभावमा विगतमा सेवा प्रवाहमा समस्या भइरहेको उल्लेख गर्दै अब भने सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गरेका छन् ।
फाया नेपालका कार्यकारी निर्देशक शेरबहादुर बस्नेतले तीन वर्ष अघि स्थलगत अनुगमनका क्रममा स्वास्थ चाैकीले जीर्ण भइसकेकाे भवनमा महिला तथा बालबालिकाकाे उपचार गर्नुपर्ने अवस्था रहेकाे जानकारीमा आएकाे बताए ।
साेही बेला नै भवन निर्माणकाे अवधारणा आएकाे बताउदै जापानकाे परराष्ट्र मन्त्रालय र आम्दा माइन्ड्सकाे सहयोगका कारण ९ महिनामै भवन निर्माण सम्भाव भएको बताए ।

यस्तै, फाया नेपालका अध्यक्ष लाेकराज भट्टले स्वास्थ चाैकी भवन निर्माणका क्रममा सहयाेग गर्ने सम्बद्व पक्षलाई धन्यवाद दिए ।
भट्टले स्वास्थ चाैकी र गाउँपालिका कार्यालयले सदुपयोग गरेर सहज रूपमा सेवा प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन् ।भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा बाेल्दै आम्दा माइन्ड्सकी नेपाल प्रमुख माइकाे काेवाइसीले दुई वर्ष अघि चुरेकाे गार्भा दरबार क्षेत्रमा पैदल यात्रा गरेर पुग्दा स्वास्थ सेवामा यहाँका महिला र बालबालिकाले भाेग्नुपरेकाे अभावबारे जान्न अवसर मिलेकाे बताइन् ।
अन्य ठाउँ भन्दा खैराला स्वास्थ चाैकीकाे अवस्था निकै दयनीय रहेको थाहा पाएपछि जापान सरकारकाे सहयाेगमा भवन निर्माण गरि हस्तान्तरण गर्न पाउँदा खुसि व्यक्त गरिन् ।
उक्त भवनले महिला तथा बालिबालिकालाई स्वास्थ सेवा प्रवाहमा सहज हुने विश्वास उनकाे थियाे ।
कार्यक्रममा उनले जापानी राजदुत युताका किकुताले जापान सरकार र जापानी जनताकातर्फबाट भन्दै सन्देश समेत सुनाएकी थिईन् ।
भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रम चुरे गाउँपालिका-२ का वडाध्यक्ष केशवबहादुर साउदकाे अध्यक्षतामा सञ्चालन भएको थियाे ।
जापान सरकारले आम्दा माइन्ड्ससँगकाे सहकार्यमा फाया नेपालमार्फत स्वास्थ चाैकि भवन निर्माण गरेकाे थियो । भवन निर्माणसँगै फाया नेपालले साेही परियाेजना अन्तरगत नै ७ लाख बराबरकाे स्वास्थ सामाग्री तथा फर्निचर पनि हस्तान्तरण गरिएकाे जनाएको छ ।

