

धनगढी । अविरल वर्षासँगैको बाढी तथा डुबानका कारण कञ्चनपुरमा मात्र ११ सय बढि परिवार प्रभावित भएका छन् । तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेश जोशीले भीमदत्त नगरपालिका, दोधाराचाँदनी नगरपालिकासहितका ठाउँमा गरेर एक हजार एक सय १२ परिवार बाढी र डुबानबाट प्रभावित भएको जानकारी दिए ।
उनकाअनुसार प्रभावित परिवारका चार हजार १६५ जनालाई सुरक्षित स्थानमा सारिएको छ । डीएसपी जोशीले बाढी तथा डुबानबाट आशिंक तथा पूर्ण रुपमा प्रभावित भएकाहरुलाई सुरक्षित स्थानमा सारिएको बताए ।
अर्को व्यवस्था नभएसम्मका लागि उनीहरुलाई विद्यालय, स्थानीय स्तरमा रहेका सामुदायिक भवन र आफन्तको घरमा व्यवस्थापन गरिएको छ । बाढि तथा डुबानका कारण कञ्चनपुरमा शिशुसहित तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।
बस्ती डुबानमा परेपछि घरभित्र जमेको पानीमा खसेर कृष्णपुर नगरपालिका–१ को पहरियामा ७ महिनाका शिशु सोनु धानुकको मृत्यु भएको थियो ।
यस्तै, पुनर्वास नगरपालिका–५ को घ गाउँमा जमेको पानीमा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने १५ वर्षीया सिर्जना बोगटी र १६ वर्षीया लक्ष्मी बोगटीको मृत्यु भएको छ । उनीहरुसँगै नुहाइरहेकी १६ वर्षकै आरती बोगटी बेपत्ता भएकी छन् ।
चौदारा नदीमा माछा मार्ने क्रममा बेलडाँडी गाउँपालिका–३ का २३ वर्षीय डम्मर चौधरी बगेर बेपत्ता भएका छन् । उनको खोजी भइरहेको छ तर अहिलेसम्म अवस्था अज्ञात रहेको छ ।

