८ असोज, धनगढी । आरजु राणा देउवाले छाडेको कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसले कसलाई उम्मेदवार बनाउँछ भन्ने सर्वत्र चासोको विषय बनेको छ ।
बालुवाटारको चाहानाअनुसार यहाँ उम्मेदवार तय हुने भएकाले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले निकटकै नेतालाई टिकट दिने पक्का छ तर कसले टिकट पाउँछन् भन्ने कुरा खुलिसकेको छैन । प्रतिनिधिसभा सदस्यमा समानुपातिक सूचीमा परेका प्रदेश महामन्त्री नरनारायण शाह मनुले प्रत्यक्षतर्फ चुनाव लड्ने आकांक्षा राखेका छन् तर उनले यो विषयमा बोलिसकेका छैनन् ।
क्षेत्र नम्बर ४ बाट सिफारिसमा परेका सुनिल भण्डारीलाई उम्मेदवार बनाउने र त्यहाँ डोटीका बिरबहादुर बलायरलाई ल्याउने कुराले पनि चर्चा पाएको छ । भण्डारी र शाहसँगै पछिल्लो समय कैलाली–५ मा २०७४ सालको चुनावमा प्रदेशसभा सदस्य जितेका नेता डिल्लीराज पन्तको नाम पनि उम्मेदवारको आकांक्षीमा थपिएको छ ।
प्रदेशसभा ख बाट प्रत्यक्षतर्फ पन्तको नाम सिफारिस भएपनि उनलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने इच्छा बालुवाटारले देखाएको स्रोत बताउँछ । यद्यपी यो कुरा नै अन्तिम भने नभनेको दाबी गरिएको छ ।
‘प्रतिनिधिसभामा माननीय डिल्लीराज पन्त र प्रदेशसभा ख मा प्रकाश देउवालाई उम्मेदवार बनाउनेगरी छलफल अघि बढेको भन्ने सुनिएको छ,’ कांग्रेस कैलालीका एक नेताले प्रेसपत्रसँग भने । कांग्रेस महाधिवेशन प्रतिनिधि देउवा आरजुका स्वकीय सचिव हुन् । ती नेताका भनाइमा प्रधानमन्त्री पत्नी आरजु राणाले पन्तलाई बालुवाटार बोलाएर उनको इच्छाबारे चासो राखेकी थिइन् ।
जवाफमा पन्तले भनेका थिए, ‘एक पटक प्रदेशसभाको टिकट दिनुभयो । चुनाव जितेर सांसद भइसके अब जे गर्नुहुन्छ समानुपातिकमा राखेपनि मलाई मान्य छ ।’ पन्तले आरजुलाई प्रदेशसभातर्फकै समानुपातिक सांसदमा बस्न पनि आफू तयार रहेको बताएका थिए ।
हाल पन्त काठमाडाँैबाट धनगढी फर्किसकेका छन् । दोस्रो तहका नेताहरुले पन्तलाई प्रतिनिधिसभामा लडाउनुपर्छ भनेर लबिङ सुरु गरेका छन् । तर यहाँ शाह पनि बलियो पात्र भएकाले उनलाई वाइपास गर्न नहुने स्वरहरु पनि कांग्रेसभित्र सुनिन थालेका छन् ।