२५ असार, धनगढी । बाजुराको बुढिगंगा नगरपालिकामा नेकपा एमालेका रामबहादुर बानियाँले मतान्तर फराकिलो बनाउदै लगेका छन् । मतगणनाको सुरुवातदेखि अग्रता लिएका बानियाँले त्यसलाई कायमै राख्दै मतान्तर बढाउदै लगेका हुन् ।
तीन हजार ९ सय ६२ मतको गणना सकिदा बानियाँले ११५२ मतका साथ अग्रता कायम राखेका छन् । बानियाँले दुई हजार ४४३ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रंगबहादुर खातीले एक हजार २९१ मत ल्याएका छन् ।
उपप्रमुखमा पनि एमालेकै मायाकुमारी खड्काले दुई हजार ४१७ मतका साथ अग्रता कायम राखेकी छन् । उनकी प्रतिद्धन्द्धी कांग्रेसकी रिता शाहीले एक हजार ३१२ मतका साथ उनलाई पछ्याइरहेकी छन् ।
अहिलेसम्म वडा नम्बर १, २, ९ र १० को मत गणना सकिएको छ । यी वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् भने गणना जारी रहेको वडा नम्बर २ मा पनि एमालेकै उम्मेदवारले अग्रता लिएका छन् । अहिले वडा नम्बर ३ र ८ को गणना भइरहेको छ ।
बुढीगंगा नगरपालिकामा बिहीबार मतदान भएको थियो । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो ।