



इलाममा २५औँ आमरण अनशनमा रहेका केसीको शिक्षण अस्पतालको ५०१ नम्बर क्याबिनमा उपचार भइरहेको छ । अस्पतालका अनुसार उनलाई श्वासप्रश्वासमा समस्या, पेट दुख्ने र पिसाबमा संक्रमणसमेत देखिएको छ ।
अनशनको पाँचौँ दिनदेखि नै उनको स्वास्थ्यमा समस्या देखिन थालेको थियो । अवस्था थप जटिल बनेपछि चिकित्सकको सिफारिसमा उनलाई काठमाडौं ल्याइएको हो ।
यसैबीच, नेपाल चिकित्सक संघले डा. केसीको जीवनरक्षाका लागि तत्काल पहल गर्न र उनका माग सम्बोधन गर्न सरकारसँग वार्ताको माग गरेको छ । संघले स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकाले उपचार तथा स्वास्थ्य सुरक्षाको उचित व्यवस्था मिलाउन आग्रह गरेको छ ।
तर, स्वास्थ्य अवस्था जटिल बनिसक्दा पनि सरकारले औपचारिक वार्ता सुरु गरेको छैन । यद्यपि शिक्षामन्त्री सस्मित पोखरेलको सचिवालयले अनौपचारिक संवाद भइरहेको र छिट्टै वार्ता टोली गठन गरेर छलफल अघि बढाउने दाबी गरेको छ ।
डा. केसीले गेटामा आवश्यक पूर्वाधारविना एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिइएको अनुमति खारेज गर्नुपर्ने, चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा देखिएको स्वार्थको द्वन्द्वबारे निष्पक्ष छानबिन गर्नुपर्ने तथा गेटा अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्नेलगायत ६ बुँदे माग राखेका छन् ।
यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने र चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा सुधार गरी सर्वसाधारणको सहज पहुँच सुनिश्चित गर्नुपर्ने उनको माग छ ।








