
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध बालुवाटारबाट गिरफ्तारमा परेका गरिखान देउ (मिराज ढुंगाना) अभियानका दुई युवा रिहा भएका छन् ।
गएराति अबेर अमृतकुमार बोहोरा र प्रकाश शर्मा रिहा भएका हुन् । सरकारले जेनजी विद्रोहका माग पूरा गर्ने नाममा झुठा आश्वासनसहितको सम्झौता गरेको भन्दै त्यसविरुद्ध मंगलबार साँझ बालुवाटारमा प्रदर्शन गरिएको थियो ।
जनेजी र सरकारबीच भएको सम्झौता पत्रसहित बालुवाटार गेटमा ललीपप टाँसिएको थियो । सोही क्रममा प्रहरीले दुईजना जेनजी युवालाई गिरफ्तार गरेको थियो । उनीहरूलाई मालिगाउँ प्रहरी वृत्तमा लगिएको थियो । अभियानका जेनजी अगुवा हरिश भट्टले गएराति अबेर मात्रै दुईजनालाई रिहा गरेको जानकारी दिए ।
“गिरफ्तारमा परेका हाम्रा साथीहरूलाई हिजो राति अबेर मात्रै रिहा गरिएको छ । अब आगामी कार्यक्रम कसरी गर्ने भन्नेबारे छलफल हुँदै छ,” उनले भने । साथीहरू गिरफ्तारमा परेपछि ढुंगानासहितको टोली मालिगाउँ प्रहरी वृत्तमा पुगेको थियो ।

