

धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी(सीडीओ) सँग विवाद गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसँग विवाद गरेपछि बिहीबार दिउँसो दुई जनालाई नियन्त्रणमा लिएको हो ।

केही समय जिल्ला प्रहरी कार्यालयमा राखिएका उनीहरुलाई सम्झाई बुझाई गरेर छाडिएको छ । स्रोतकाअनुसार आफूसँग विवाद गरेपछि प्रजिअ रेग्मीले उनीहरुलाई थुन्न प्रहरीलाई आदेश दिएका थिए ।
त्यसपछि प्रजिअकै आदेशमा सम्झाईबुझाई गरेर छाडिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले प्रजिअसँग विवाद भएपछि नियन्त्रणमा लिइएकाहरुलाई सम्झाईबुझाई गरेर छाडिएको बताए । मुद्दा नचलाएका कारण प्रहरीले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन् ।

