
धनगढी । जिल्ला अस्पताल बझाङको अध्यक्षमा विरेन्द्रबहादुर खड्का नियुक्त भएका छन्। स्वास्थ्य सेवाको गुणस्तर सुधार र संस्थागत सुशासनमा अनुभव बटुलेका खड्का नेतृत्वमा आएपछि अस्पताल सुधारको अपेक्षा गरिएको छ।
जयपृथ्वी नगरपालिका–३, पडेश निवासी खड्काले त्रिभुवन विश्वविद्यालयबाटबाट राजनीति शास्त्रमा स्नातकोत्तर तथा एमएड गरेका छन्। विद्यार्थी राजनीतिबाट सार्वजनिक जीवन सुरु गरेका उनी अनेरास्ववियु हुँदै केन्द्रीय सदस्यसम्म पुगेका थिए।
गैरसरकारी तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै सामाजिक परीक्षण, सार्वजनिक सुनुवाइलगायत कार्यक्रममा सक्रिय खड्का स्वास्थ्य क्षेत्रमा पारदर्शिता र जवाफदेहिताका विषयमा पनि संलग्न रहँदै आएका छन्।
नवनियुक्त अध्यक्ष खड्काले अस्पताललाई जनमैत्री, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीयवासीले उनको नेतृत्वमा अस्पतालले नयाँ गति लिने विश्वास व्यक्त गरेका छन्।

