

धनगढी । कैलालीको टीकापुरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २० जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएका छुट्टाछुट्टै टोलीले गोप्य सूचनाका आधारमा तीन ठाउँमा छापा हानेर उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले बताए ।

उनीहरूको ९४ हजार ४८५ नगद, ६ गड्डी तास र ३ थान चादर बरामद गरिएको छ । टीकापुर नगरपालिका–१, ब्लक नं. १५ बस्ने तिलक बस्नेतको घरमा शनिबार साँझ पौने ७ बजेतिर जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा हानेको थियोे ।
सो क्रममा घरधनीसहितका ७ जनालाई पक्राउ गरिएको डीएसपी तिमिल्सिनाले बताए । पक्राउ पर्नेमा टीकापुर–१ ब्लक नं. १२ बस्ने ५० वर्षीय भोजराज बिनाडी, ५२ वर्षीय यमप्रकाश रोका क्षेत्री, घरधनी ५८ वर्षीय तिलक बस्नेत, ४२ वर्षीय नारायण बस्नेत, ५२ वर्षीय कृष्ण रेग्मी, ५६ वर्षीय धर्मराज रोकाय र ३४ वर्षीय बिनोद बस्नेत रहेका छन् ।
उनीहरुको साथबाट नौँ हजार ४८५ रुपैयाँ नगद, एक गड्डी तास बरामद गरिएको छ । यस्तै, शनिबार साँझ नै टीकापुर–१ को नयाँ टीकापुरस्थित लालबहादुर थापाले सञ्चालन गरेको खाजा–नास्ता पसलको कोठामा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा टीकापुर–१ एकतापुर शिविरका ३७ वर्षीय देवराज बुढा, ३० वर्षीय महेन्द्र कडायत, ३७ वर्षीय बमबहादुर थापा, ३० वर्षीय राजेश चौधरी, ३२ वर्षीय रमेश चौधरी, ३२ वर्षीय लक्ष्मण देवकोटा, पसल सञ्चालक ४३ वर्षीय लालबहादुर थापा, ५२ वर्षीय तरकराज रेग्मी र ४३ वर्षीय नोटप्रसाद पाण्डे रहेका छन् ।
उनीहरुको साथबाट ७७ हजार ७३५ नगद र तीन गड्डी तास बरामद गरिएको छ । टीकापुर–१ कै शेरचन होटेलमा पनि प्रहरीले छापा हानेर जुवातास खेलीरहेका चार जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा ४९ वर्षीय जयराज रोकाया, ५० वर्षीय डम्मर साउद, वडा नं. १ का ५७ वर्षीय होटल सञ्चालक भिम शेरचन र ४७ वर्षीय रमन चौधरी रहेका छन् । उनीहरुको साथबाट सात हजार २६५ नगद र दुई गड्डी तास बरामद गरिएको छ ।
जुवातास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिइएका सबैmाई हिरासतमा राखेर इलाका प्रहरी कार्यालय टीकापुरमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

