

कञ्चनपुरर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद तथा छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा यसको अवशेष अझै समाजका विभिन्न तहमा जरो गाडेर बसेको देखिन्छ। विशेषगरी ग्रामीण समाजमा परम्परा, संस्कार र सामाजिक संरचनासँग गाँसिएको जातीय विभेद पूर्ण रूपमा अन्त्य हुन अझै समय लाग्ने देखिन्छ।
राजनीतिक, सामाजिक र बौद्धिक मञ्चहरूमा समानता, समावेशिता र सामाजिक न्यायका कुरा व्यापक रूपमा उठाइए पनि व्यवहारमा समानता स्थापित गर्न चुनौती कायमै छ। तर सुदूरपश्चिम प्रदेशको बैतडी, पाटन नगरपालिका–३ स्थित वनारसीधाम तथा विश्वनाथ ज्योतिर्लिङ्ग शक्तिपीठ भने ४१८ वर्षअघि नै सामाजिक समानताको अभ्यास सुरु गरिएको ऐतिहासिक स्थल का रूपमा चिनिन्छ।

यस शक्तिपीठमा दलित र ब्राह्मण पुजारीले एउटै धाम क्षेत्रमा संयुक्त रूपमा पूजा–अर्चना गर्दै आएको परम्परा छ। यही विशेषताका कारण वनारसीधामलाई जातीय विभेदविरुद्धको एउटा ऐतिहासिक ‘लिभिङ म्युजियम’ ९जीवित सङ्ग्रहालय० का रूपमा लिन सकिन्छ। तर विडम्बना, समानताको यति ठूलो सन्देश बोकेको धाम विकासका हिसाबले भने अझै पछाडि परेको छ। करोडौँको गुरुयोजना बजेट अभावमा कागजमै सीमित बनेको छ।
चार सय वर्षअघिको सामाजिक सुधार आन्दोलन
विशेषगरी धार्मिक क्षेत्रलाई उच्च जातिको अधिकार क्षेत्र मानिने र दलित समुदायलाई मन्दिर प्रवेशदेखि पूजा–अर्चनासम्म प्रतिबन्ध लगाउने परम्परा लामो समयसम्म कायम थियो। तर बैतडीको वनारसीधाममा भने यसको ठीक उल्टो अभ्यास हुँदै आएको छ।
धाम क्षेत्रको इतिहासको खोजी गर्दै आएका अनुसन्धानकर्ता तथा आचार्य पण्डित गणेशप्रसाद पन्तका अनुसार यहाँ दलित र ब्राह्मण पुजारीले संयुक्त रूपमा पूजा गर्ने, प्रसाद वितरण गर्ने तथा धार्मिक अनुष्ठान सञ्चालन गर्ने परम्परा चार सय वर्षभन्दा लामो समयदेखि निरन्तर चल्दै आएको छ।
उनका अनुसार वनारसीधामको इतिहास तत्कालीन स्वराड क्षेत्रका महाराजा मानुक चन्दको शासनकालसँग जोडिएको पाइन्छ। इतिहासअनुसार १६०४ सालतिर स्वराड क्षेत्रमा जातीय विभेद चरम अवस्थामा थियो। समाजमा छुवाछूत, सामाजिक भेदभाव र जातीय विभाजनका कारण सामाजिक सद्भाव खल्बलिन थालेपछि राजा मानुक चन्दले समाधान खोज्न राजगुरु तथा राजज्योतिषी वीरभद्र पन्तलाई निर्देशन दिएका थिए।
“राजगुरुको पहलमा विभिन्न जात–समुदायका प्रतिनिधिहरूको बैठक बोलाइएको थियो,” आचार्य पन्तले भने, “उक्त बैठकमा पण्डित, भट्ट, भाट, विष्ट, अवस्थी, कोली, दमाई, लुहार, कुमाल, पहरीलगायत विभिन्न जात–समुदायका प्रतिनिधिहरू सहभागी भएका थिए। लामो छलफलपछि एउटा ऐतिहासिक निर्णय भयो— धर्म, पूजा र धार्मिक आस्थाको क्षेत्रमा कुनै पनि प्रकारको जातीय विभेद हुनु हुँदैन।”
उनका अनुसार उक्त निर्णयलाई पछि राजसभा परिषद्बाट औपचारिक रूपमा पारित गरियो। त्यसपछि दलित समुदायका व्यक्तिलाई समेत पुजारी नियुक्त गरियो र ब्राह्मण पुजारीसँगै संयुक्त रूपमा पूजा गर्ने परम्परा सुरु भयो। करिब ४१८ वर्षदेखि आजसम्म यही परम्परा निरन्तर चलिरहेको छ।
आज पनि जीवित छ समानताको परम्परा
वनारसीधाम विश्वनाथ सेवा समाजका उपाध्यक्ष मनिराम कोलीका अनुसार त्यो समय हिन्दू समाजमा जातीय विभेद अत्यन्त कठोर रूपमा लागू हुने समय थियो।
“त्यस्तो समयमा धार्मिक क्षेत्रमा समानता लागू गर्नु अत्यन्त ठूलो सामाजिक परिवर्तन मानिन्छ,” उनले भने, “समाजशास्त्रीय दृष्टिले हेर्दा यो धाम जातीय विभेदविरुद्धको ऐतिहासिक आन्दोलनको प्रतीक जस्तै देखिन्छ।”
आज पनि यस धाममा दलित पुजारीबाट टीका लगाउने, प्रसाद लिने र पूजा गराउने परम्परा कायम छ। यहाँ आउने भक्तजनले पुजारीको जात हेरेर पूजा गराउने चलन छैन। ब्राह्मण र दलित पुजारी एउटै स्थानमा बसेर संयुक्त रूपमा पूजा गर्ने, धार्मिक अनुष्ठान सञ्चालन गर्ने र भक्तजनलाई प्रसाद वितरण गर्ने परम्परा अझै जीवित छ।
धामका वरिष्ठ प्रचारक कोली भन्छन्, “यसले समाजमा समानता, सहअस्तित्व र समावेशीताको सन्देश दिन्छ। धार्मिक स्थल भएर पनि यसले सामाजिक परिवर्तनको सन्देश दिइरहेको छ।”
सीमापार धार्मिक महत्व
धार्मिक मान्यताअनुसार वनारसीधामको वर्णन स्कन्द महापुराणको मानसखण्डमा गरिएको पाइन्छ। उक्त ग्रन्थमा भगवान शिवले रमणीय पुरी निर्माण गरी त्यहाँ ज्योतिर्लिङ्ग स्थापना गराएको उल्लेख छ।
यहाँको विश्वनाथ ज्योतिर्लिङ्गलाई ८४ रूप धारण गर्ने, २२ तालमा स्नान गर्ने, १२ मसानको गुरु तथा ८४ सिद्धबाट सम्मानित रूपमा पूजा गरिन्छ भन्ने धार्मिक विश्वास छ। यही कारणले यो धाम शक्तिपीठका रूपमा विशेष मान्यता पाएको समाजका सदस्य लक्ष्मी भाट बताउँछन्।
वनारसीधाममा विभिन्न पर्व तथा मेलामा नेपाल र भारतका हजारौँ भक्तजन आउने गर्छन्। विशेषगरी माघ महिनामा लाग्ने २२ ताल कुम्भ मेला निकै प्रसिद्ध छ। यस अवसरमा २२ वटा जलाशयबाट पानी सङ्कलन गरी मुख्य शिवलिङ्गमा स्नान गराउने विशेष परम्परा रहेको छ।
सुदूरपश्चिमका जिल्लासँगै भारतका उत्तराखण्ड, उत्तरप्रदेश, पञ्जाब, लखनऊ र कर्नाटकबाट समेत भक्तजन आउने गर्दछन्। यसले धामको सीमापार धार्मिक महत्वलाई स्पष्ट पार्छ।
१८ करोडको डीपीआर, बजेट भने न्यून
धामको पूजा–अर्चना र व्यवस्थापनका लागि वनारसीधाम विश्वनाथ गुठीको नाममा ६ सय ६६ रोपनी जग्गा व्यवस्थापन गरिएको छ। स्थानीय व्यवस्थापन समितिले चन्दा र सहयोगबाट मन्दिर निर्माण, सिँढी, पर्खाल तथा जीर्णोद्धारका काम सम्पन्न गरेको छ।
यस क्षेत्रमा ७५ फिट अग्लो मन्दिर निर्माण समेत स्थानीय प्रयासबाट सम्भव भएको छ। तर यति ठूलो धार्मिक, ऐतिहासिक र सामाजिक महत्व बोकेको धामको विकास केवल स्थानीय प्रयासले मात्र सम्भव नहुने सरोकारवालाको भनाइ छ।
वनारसीधाम क्षेत्रको समग्र विकासका लागि करिब १८ करोड ८० लाख रुपैयाँ बराबरको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गरिएको छ। तर हालसम्म राज्यबाट अत्यन्त न्यून बजेट मात्र प्राप्त भएको समाजका अध्यक्ष उत्तरबहादुर चन्द बताउँछन्।
“धाम क्षेत्रका भौतिक संरचना निर्माण गर्दा समितिलाई १६ लाख रुपैयाँभन्दा बढी कर्जा लागेको छ,” उनले भने, “विभिन्न निकायमा बजेट माग गर्दै धायौँ, तर हालसम्म पर्याप्त बजेट व्यवस्थापन हुन सकेको छैन।”
धार्मिक पर्यटनको ठूलो सम्भावना
धाम क्षेत्रको विकासका लागि नदीमा पुल निर्माण, मन्दिरसम्म सडक विस्तार, धर्मशाला, शौचालय, खानेपानी, तटबन्ध, पर्खाल तथा पर्यटकका लागि बसोबास व्यवस्थाजस्ता पूर्वाधार आवश्यक रहेको अध्यक्ष चन्दको भनाइ छ।
मूलपूजारी धिरे लुहारका अनुसार धार्मिक पर्यटन विकास भए होटल व्यवसाय, पसल, यातायात, गाइड सेवा, हस्तकला, स्थानीय कृषि उत्पादन बिक्री र सांस्कृतिक कार्यक्रममार्फत स्थानीयलाई रोजगारी तथा आम्दानीको अवसर सिर्जना हुन सक्छ।
“उचित लगानी गरियो भने वनारसीधाम सुदूरपश्चिमकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बन्न सक्छ,” उनले भने, “इतिहास, धार्मिक महत्व, सामाजिक सन्देश र पर्यटन सम्भावना हुँदाहुँदै पनि यो धाम राज्यको प्राथमिकतामा पर्न सकेको छैन।”
समानताको धरोहर, विकासको पर्खाइमा
सामाजिक समानताको ४१८ वर्ष पुरानो सन्देश बोकेको वनारसीधाम आज पनि धार्मिक सहअस्तित्वको जीवित प्रतीक बनेर उभिएको छ। तर आर्थिक अभाव, पूर्वाधारको कमी र राज्यको उपेक्षाका कारण अपेक्षित विकास हुन सकेको छैन।
वनारसीधामको कथा एउटा मन्दिरको मात्र कथा होइन, यो विभेदविरुद्धको इतिहास, समानताको सन्देश र विकासको सम्भावनाको कथा हो। त्यसैले यसलाई धार्मिक सहअस्तित्व र सामाजिक एकताको महत्वपूर्ण धरोहरका रूपमा संरक्षण तथा विकास गर्नु आजको आवश्यकता बनेको छ।

