

धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष दिनेश कुमार कोइरालाको ९० वर्षको उमेरमा निधन भएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६, कोटिहवामा बसोबास गर्दै आएका कोइरालाको उपचारका क्रममा चैत २२ गते आइतबार निधन भएको हो।
कोइरालाले २०५० साल जेठ २८ गतेदेखि २०५१ साल असोज १ गतेसम्म नवजीवन सहकारीको अध्यक्षका रूपमा नेतृत्व सम्हालेका थिए। सहकारी स्थापनाको प्रारम्भिक चरणमै उनले संस्थाको मजबुत आधार निर्माण, संगठनात्मक संरचना सुदृढीकरण तथा सदस्य विस्तारमा महत्वपूर्ण भूमिका खेलेका थिए। उनकै नेतृत्वमा सहकारीले सेवा प्रवाहलाई व्यवस्थित गर्दै समुदायमा विश्वासको आधार विस्तार गरेको थियो।
उनको निधनप्रति नवजीवन सहकारी संस्था लिमिटेडले गहिरो दुःख व्यक्त गरेको छ। सहकारीका वर्तमान अध्यक्ष देवबहादुर बमले जारी गरेको शोक वक्तव्यमा स्वर्गीय कोइरालाको योगदान अतुलनीय, प्रेरणादायी र ऐतिहासिक रहेको उल्लेख गरिएको छ।
“उहाँको दूरदृष्टि, मार्गदर्शन र समर्पणकै कारण सहकारी आजको उचाइमा पुगेको हो,” अध्यक्ष बमले भने, “उहाँले देखाउनुभएको मार्गलाई आत्मसात गर्दै संस्थालाई अझ उन्नत बनाउने हाम्रो प्रतिबद्धता छ।”
स्थानीय समाजमा सरल, इमानदार र सहकारी अभियानप्रति जीवन समर्पित व्यक्तित्वका रूपमा परिचित कोइरालाले आफ्नो जीवनको महत्वपूर्ण समय सामाजिक तथा आर्थिक रूपान्तरणमा खर्च गरेका थिए। सहकारीमार्फत समुदायमा बचत तथा ऋण सेवाको पहुँच विस्तार, आर्थिक सशक्तीकरण र आत्मनिर्भरता अभिवृद्धिमा उनको भूमिका स्मरणीय रहेको सहकारीकर्मीहरूले बताएका छन्।
उनको निधनले सहकारी क्षेत्रसँगै समग्र समुदायलाई अपूरणीय क्षति पुगेको भन्दै सहकारीले स्वर्गीय कोइरालाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

