

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ले सञ्चार क्षेत्रको संरक्षण र संवर्द्धन गर्नु सरकारको प्रमुख दायित्व भएको बताएका छन्।
सरकारले सरकारी सूचना सरकारी सञ्चारमाध्यममा मात्रै प्रकाशन तथा प्रसारण गर्न जारी गरेको परिपत्र सच्याउन माग गर्दै नेपाल पत्रकार महासङ्घ ले सञ्चालन गरेको दबाबमूलक कार्यक्रमअन्तर्गत आज महासङ्घको सुदूरपश्चिम प्रदेश समिति र कैलाली शाखाले धनगढीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
मुख्यमन्त्री शाहले सञ्चार क्षेत्रलाई राज्यको चौथो अङ्ग का रूपमा उल्लेख गर्दै सङ्घीयता, लोकतन्त्र र गणतन्त्रको सुदृढीकरणमा पत्रकारिताले खेलेको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए।
उनले भने, “सञ्चार क्षेत्रले सङ्घीयता, लोकतन्त्र र गणतन्त्रका लागि खेलेको भूमिका महत्त्वपूर्ण छ। राज्यले चौथो अङ्गका रूपमा लिएको पत्रकारिताको संरक्षण र संवर्द्धन गर्न सरकारले विशेष योजनासहित स्पष्ट नीति बनाउनुपर्छ।”
उनका अनुसार नीति निर्माण गर्दा कुनै पनि सञ्चारमाध्यम वा सरोकारवाला मर्कामा नपर्ने गरी सबैलाई स्वीकार्य ढंगले अघि बढाउन आवश्यक छ। सञ्चार क्षेत्र कमजोर भए लोकतन्त्रसमेत कमजोर बन्ने उनको भनाइ थियो।
मुख्यमन्त्री शाहले पछिल्लो समय सङ्घीय सरकारले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्रै प्रकाशन/प्रसारण गर्न जारी गरेको परिपत्रका कारण निजी सञ्चारमाध्यममा असहजता सिर्जना भएको उल्लेख गर्दै सबै पक्षलाई सहज हुने र सर्वस्वीकार्य नीति सरकारले ल्याउने विश्वास व्यक्त गरे।
उनले केही दिनअघि सुदूरपश्चिम प्रदेशसभामा आमसञ्चार विधेयक टेबुल भइसकेको जानकारी दिँदै सञ्चार क्षेत्रको समग्र विकासका लागि उक्त विधेयकलाई थप परिमार्जन र संशोधन गर्न प्रदेश सरकार स्पष्ट र प्रतिबद्ध रहेको बताए।

